वीरगन्ज :

फेरि राष्ट्रपतिको चुनाव लड्ने ट्रम्पको सङ्केत

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
19Views
0 Shares

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले उनी फेरि ह्वाइट हाउसमा फर्कन चाहेको सङ्केत गरेका छन् । आयोवा राज्यको सु सहरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले सन् २०२४ मा आफू फेरि चुनाव लड्ने एकदमै सम्भावना भएको बताए ।

अमेरिकी संसद सदस्य तथा कैयन् सिनेट सदस्यहरू चुनिने आगामी साताको निर्वाचनका निम्ति तय भएका चारमध्ये पहिलो र्यालीलाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन् । सो निर्वाचनमा आफ्ना दलका उम्मेदवारका पक्षमा समर्थन जुटाउन राष्ट्रपति जो बाइडन पनि देशभरि घुमिरहेका छन् ।

आगामी मङ्गलबारको निर्वाचनमा न त बाइडन न त ट्रम्प उम्मेदवार छन् तर त्यसको नतिजाले भने अमेरिकी कङ्ग्रेस तथा महत्वपूर्ण राज्य गभर्नरका पदहरूमा फेरबदल ल्याइ शक्ति सन्तुलन बदल्दिन सक्छ ।

दुई वर्षपछि हुने राष्ट्रपतिय निर्वाचनको निम्ति उक्त परिणामले नौलो अमेरिकी राजनीतिक परिदृश्य स्थापित गरिदिनेछ । बिहीबार राति रिपब्लिकन दलका नेता ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको भन्ने उनका पुराना दाबी पुनः दोहोर्याए ।

सन् २०२० मा ट्रम्पले सत्तासीन राष्ट्रपतिहरूको तुलनामा सबभन्दा धेरै भोट पाएका थिए। तर उनले पाएको ७ करोड २० लाख भोटभन्दा धेरै उनका डेमोक्रेटिक दलका प्रत्याशी बाइडनले ८ करोड १० लाख भोट पाएका थिए ।

बिहीबार न्यू मेक्सिको र क्यालिफोर्नियामा प्रचार र्यालीमा सामेल बाइडनले सन् २०२४ को निर्वाचनमा आफू पुनः उम्मेदवार हुनेबारे वरिष्ठ सल्लाहकारहरूसँग कुराकानी थालेका विवरण आएका छन् ।

त्यसो भयो भने सन् २०२४ मा पनि सन् २०२० मा जस्तै ट्रम्प र बाइडनबीच टक्कर हुनेछ । महिनौँदेखि ट्रम्पले फेरि राष्ट्रपतिको उम्मेदवार हुने कि नहुने भन्नेबारे उनको प्रस्ट भनाइ नराखिकन केवल सानातिना सङ्केतमात्रै दिँदै आएका थिए ।

ट्रम्पकी पूर्व वरिष्ठ सल्लाहकार केल्यान कन्वेले बिहीवार वाशिङ्टन डिसीमा आयोजित एक कार्यक्रममा ट्रम्पले यसबारे चाँडै नै घोषणा गर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *