जनकपुर,०४ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं सडकमा उत्रिएर जनकपुरधामका फुटपाथ खाली गराउन सक्रिय भएका छन्।
जनकपुरधाम लाई स्वच्छ, व्यवस्थित र पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्यसहित बुधबार बिहानदेखि गृहमन्त्री महतोको नेतृत्वमा सडकपेटी खाली गराउने अभियान सुरु गरिएको हो।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, धनुषा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सञ्चालन भएको अभियानमा फुटपाथमा व्यवसाय गर्दै आएका व्यापारीलाई अन्यत्र सर्न आग्रह गरिएको छ।
मठमन्दिर आसपासका क्षेत्रलाई प्राथमिकता दिँदै सुरु गरिएको अभियानमा गृहमन्त्री महतोले सबैको सहकार्य बिना परिवर्तन सम्भव नहुने बताए। उनले स्थानीयवासी, व्यवसायी र नागरिक समाजलाई शहरको सुधारमा साथ दिन आग्रह गरेका छन्।
पहिलो दिन व्यवसायीहरूलाई अनुरोध गरिएको उल्लेख गर्दै उनले भोलिदेखि पुनः फुटपाथमा व्यापार गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएका छन्।
यसैबीच सुरेन्द्र भण्डारी ले हाल फुटपाथमा व्यवसाय गर्दै आएकाहरूका लागि बाह्रविघा मैदान मा अस्थायी रूपमा पसल सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।
अर्को निर्णय नभएसम्म व्यवसायीहरूले त्यहीँ ठेला र स्टल सञ्चालन गर्न सक्ने र पछि सर्वपक्षीय निर्णयअनुसार स्थायी व्यवस्थापन गरिने जनाइएको छ।

प्रतिक्रिया