श्रेणी : BANNER
वीरगंज (पर्सा), १५ भदौ / डा. आशिफ अंसारीको बचाउमा चिकित्स संघ लागेको आरोप लाग्न थालेको छ । वीरगंज हेल्थ केयर अस्पतलाका डा. आशिफको लापरवाहीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेरगाहा निवासी ३२ वर्षीय फिरोज मियाँको मृत्यु भएको भन्दै मृतको आफन्तजन र स्थानिय आन्दोलनरत रहेका छन् । भदौ १३ गते मृतकका आफन्तले गरेको विरोध प्रदर्शनमा नेपाल चिकित्सक संघले डाक्टरलाई बचाउन खोजेको भन्दै विरोध भयो । वीरगंजको घण्टाघरबाट नारायणी अस्पताल तथा नेपाल चिकित्सक संघको कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै यथाशिघ्र कानुनी दायरामा आउन मृतकका आफन्तले आग्रह गरे ।
त्यसपछि नेपाल चिकित्सक सङ्घ, पर्साले मङ्गलबार ज्ञापन पत्र बुझाउँदै भदौ १३ गते दिउँसो नारायणी अस्पतालमा चिकित्सकसँग दुव्र्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूलाई २४ घण्टाभित्र कारबाई नगरिए सेवा ठप्प पार्ने चेतावनी दिएको छ । सङ्घले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा ज्यान मार्ने धम्की दिनेलाई कारवाही नगरिए सेवा ठप्प पार्ने चेतावनी दिइएको छ । जब की आन्दोलनको क्रममा भएको प्रदर्शनमा कसैले जान मार्ने धम्की नदिएको आन्दोलनरत मध्येका नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहको दाबी छ ।
नेता सिंह भन्छन्, ‘हामीले न्याय खोजेका हौँ, हामीलाई क्षतिपुर्ती चाहिन्छ र गल्ती गर्नेलाई कारवाही हुनुपर्छ । नेपाल प्रहरीकै अगाडी हामीले शान्तिपुर्ण ढंगले न्यायको माग गर्दा ज्यान मार्ने धम्की कसरी दिन सक्छौ ?’ ज्यान मार्ने धम्की दिएको भनेर सहानुभुती पाउन खोजेको र घटनालाई अन्यत्रै मोड्ने प्रोपोगाण्डा मात्रै भएको नेता सिंहको बुझाई छ । पोस्टमार्टममा संलग्न चिकित्सले पनि ३ वटा नशा काटिएकै कारण मृत्यु भएको भनेको कुरा अडियो रेकर्डसमेत रहेको उनले दावी गरे । चिकित्सकलाई कारवाही नगरे गाडीसकेको फिरोजको लाश निकालेर प्रदर्शन गर्ने आन्दोलनरतको चेतावनी दिएका छन् ।
यस अघि पनि चिकित्सक संघ नारायणीले पत्रकार सम्मेलन गरेर चिकित्सकको दोष नरहेको स्पष्टिकरण दिएको थियो । मृत्यु भएको एक साता बित्यो । पित्तथैलीको पत्थरीका कारण असहज अवस्था भएपछि साउन २६ गते वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका मियाँलाई भदौ ५ गते राति काठमाण्डौको मेडिसिटी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । वीरगंज टाईम्स
प्रतिक्रिया