श्रेणी : मधेस
बीरगन्ज,१५ माघ । प्रेस सेन्टर नेपालले आफ्नो २१औँ स्थापना दिवस बीरगन्जमा प्रभातफेरी र आकस्मिक रक्तदान कार्यक्रमसहित मनाएको छ। प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा घण्टाघरबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै टुंगिएको थियो।
प्रभातफेरीपछिको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारिताको व्यवसायिकता र पत्रकारको हकहित सुनिश्चित गर्न प्रेस सेन्टरको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नागरिकका समस्यालाई उजागर गर्दै सुसूचित गराउने जिम्मेवारी पूरा गर्न पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगेर, निवर्तमान अध्यक्ष दीपक गौतम, प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान, र अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमदलगायतको उपस्थिति रहेको थियो।
यस अवसरमा आकस्मिक रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेलले उद्घाटन गरेको रक्तदान कार्यक्रममा प्रेस सेन्टर पर्साका अध्यक्ष यादवसहित २१ जनाले रक्तदान गरेका थिए।
प्रतिक्रिया