वीरगन्ज :

प्रेम विवाह दर्ता विवादमा वन समितिका अध्यक्ष पक्राउ

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.7kViews
1646 Shares

वीरगन्ज,०७ साउन । बाराको डुमरवानास्थित हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराईलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेलमाथि उनकै घरमा गई अभद्र व्यवहार गरेको आरोपमा भट्टराईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यो घटनाको मुख्य कारण एउटा विवादास्पद विवाह दर्ता प्रकरण रहेको खुलेको छ।

जीतपुरसिमरा–४ का वडासचिव झलकनाथ भट्टराईले मापदण्डविपरीत एक प्रेम विवाह दर्ता गराइदिएपछि यो विवाद चर्किएको हो। मकवानपुरको मनहरी गाउँपालिकाकी बबिता प्रजा र कलैया उपमहानगरपालिका–१६ का रोशन कुमार कुशवाहाबीच प्रेम विवाह भएको थियो। रोशनको स्थायी ठेगाना कलैया–१६ भए पनि, वडासचिव भट्टराईले विवाह दर्ता जीतपुरसिमरा–४ मा गराएका थिए।

वन समितिका अध्यक्ष विकल्प भट्टराई, वडासचिव झलकनाथ भट्टराईका आफ्नै आफन्त हुन्। अवैध विवाह दर्ताका लागि वडाध्यक्ष खरेल दोषी रहेको भन्दै भट्टराईले खरेलको घरमै पुगेर अभद्र व्यवहार गरेका थिए। तर, वडाध्यक्ष खरेलले वडासचिव भट्टराईको कार्यशैलीलाई स्वीकारेका थिएनन्। विवाहपछिको सम्बन्ध तनावपूर्ण बन्दै गयो र अन्ततः २०८१ साल चैत ११ गते जिल्ला अदालत, बारामा कानुनी रूपमा सम्बन्ध विच्छेदमा टुंगियो। सम्बन्ध विच्छेदका क्रममा बबिता प्रजाले पाउनुपर्ने ३३ लाख रुपैयाँ क्षतिपूर्ति घटेर १५ लाखमा सीमित भयो। यसबाट १८ लाख रुपैयाँ बीचमै गायब भएको रहस्य खुलेको छ। यस आर्थिक लेनदेनमा केही मध्यस्थकर्ता र बिचौलियाको संलग्नता देखिएको अनुसन्धानबाट पत्ता लागेको छ।

जिल्ला प्रशासन कार्यालय, बाराले विवाह दर्ताको विषयमा गरेको अनुसन्धानबाट वडासचिव झलकनाथ भट्टराई दोषी ठहर भएका थिए। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले घटनाको विस्तृत जानकारी लिन वडासचिव भट्टराईलाई कलैयामा बोलाएपछि यो घटनाले थप नयाँ मोड लिएको थियो। यस घटनाले स्थानीय प्रशासन, न्याय प्रणाली र स्थानीय नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष भट्टराई, उनका आफन्त रामचन्द्र भट्टराईलगायतका व्यक्तिहरू बिचौलियाका रूपमा संलग्न रहेको आशंका गरिएको छ।

सम्बन्धित पक्षहरूले आफू निर्दोष रहेको दाबी गरे पनि विवाह दर्ता प्रक्रियामा भएको त्रुटि, आर्थिक लेनदेनमा देखिएको अनियमितता र अभद्र व्यवहारको मुद्दाले यो घटनालाई अत्यन्त संवेदनशील बनाएको छ। हाल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारा दुवैले घटनाको गहन अनुसन्धान अघि बढाएका छन्। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनुसन्धानबाट दोषी प्रमाणित हुने जो–कोहीलाई पनि कडाभन्दा कडा कानुनी कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *