
श्रेणी : राष्ट्रिय
काठमाडौं । संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने छन् ।
आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश समितिलाई दिइएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमार्फत आफूले व्यापार व्यवसाय गर्दा झेल्नु परेका समस्यालाई उल्लेख गरेका थिए । मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका आचार्यको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया