
श्रेणी : BANNER
धनुषा, ०२ पुस । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा फेला परेकी २२ वर्षीया अनु रायको हत्या अभियोगमा सर्लाही चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीप कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने सहमति जुटाएर फर्किने क्रममा यादव र रायबीच विवाद भएको थियो । अभिभावकलाई बोलाउने विषयमा भएको विवादले झगडाको रूप लिँदा एकअर्कालाई कुटपिट गरेपछि रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका नायब उपरीक्षक (डीएसपी) सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए ।
शव फेला परेको दिनदेखि प्रहरी अनुसन्धान अघि बढाएको थियो। टुटेश्वर मन्दिरबाट मृतक रायसँग आरोपी यादव सँगै फर्किएको र टेम्पुमा यात्रा गरेको सीसीटीभी भिडियो प्रमाणका आधारमा यादवलाई वीरगन्जबाट पक्राउ गरिएको डीएसपी जैसवारले बताए।
पक्राउ परेका यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया