श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज्,२५ असार । नेपाल–भारत सीमास्थित रक्सौलको मैत्री पुल नजिकै भारतको गाजियाबादबाट नेपाल ल्याइँदै गरिएका दुई नाबालिग किशोरीको उद्धार गरिएको छ। मानव तस्करीको आशंकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी), मानव तस्करी रोधी इकाई र प्रयास जुभेनाइल एड सेन्टरको संयुक्त कारबाहीमा दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गाजियाबादका मोहम्मद रिजवान उर्फ अमन र मोहम्मद शेख रहेका छन्। उनीहरूले गाजियाबादकी १५ वर्षीया हसीना र १६ वर्षीया शायरा (दुवै नाम काल्पनिक) नामक सहोदर दिदीबहिनीलाई विवाहको झुटो आश्वासन र भावनात्मक प्रलोभनमा पारेर नेपाल ल्याउने प्रयास गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा किशोरीहरूलाई शारीरिक र मानसिक रूपमा शोषण गरिएको खुलेको छ। रिजवानले हसीनासँग विवाहको वाचा गरेका थिए भने शेखले आफू एक्लो भएको भन्दै शायरालाई प्रेमको जालमा पारेका थिए। तर पछि शेख विवाहित र एक सन्तानका पिता रहेको तथ्य फेला परेको छ।
मैत्री पुल नजिक नियमित जाँचका क्रममा उनीहरू शंकास्पद देखिएपछि पक्राउ गरिएको थियो। किशोरीहरूको काउन्सिलिङपछि घटनाको वास्तविकता बाहिर आएको हो। गाजियाबाद प्रहरीसँग समन्वय गर्दा दुबै किशोरीको अपहरण, धम्की र चोरीसम्बन्धी उजुरी दर्ता भइसकेको पुष्टि भएको छ।
हाल दुई युवक र किशोरीहरूलाई रक्सौलको हरैया थानामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार समयमै गरिएको कारबाहीले दुई किशोरीलाई सम्भावित मानव तस्करी र गम्भीर अपराधबाट बचाएको हो। यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा सक्रिय मानव तस्करीको खतरा अझै कायम रहेको देखाउँदै निगरानी संयन्त्रलाई अझ सशक्त बनाउनु पर्ने आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया