वीरगन्ज :

प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.1kViews
1917 Shares

विराटनगर,२० जेठ । मोरङ प्रहरी हिरासतमा रहेका एक थुनुवाको मंगलबार बिहान उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको छ।

झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि लगिएको अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा श्रेष्ठलाई जेठ १५ गते म्याद थप गरेर हिरासतमा राखिएको थियो। मंगलबार बिहान करिब ९:२० बजे ज्वरो, पेट दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि उनलाई कोशी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ११:३० बजेतिर उनको मृत्यु भएको हो।

डीएसपी जोशीका अनुसार श्रेष्ठ विगतदेखि लागुऔषध प्रयोगकर्ता थिए र पटक–पटक बिरामी पर्ने गरेकाले यसअघि पनि प्रहरीद्वारा उपचारका लागि अस्पताल लाने गरिएको थियो।

श्रेष्ठका विषयमा थप विवरण दिँदै डीएसपी जोशीले भने, “उनी अपराधिक पृष्ठभूमिका थिए। उनीमाथि यसअघि ४ पटक मुद्दा चलिसकेको पाइएको छ।”

उनविरुद्ध सुनसरीको इटहरी, झापाको दमक, मोरङको पथरी र जिल्ला प्रहरी कार्यालय मोरङमा लागुऔषध तथा अभद्र व्यवहारका मुद्दा दर्ता भएका थिए। पछिल्लो पटक विराटनगरमा साइकल चोरीको प्रयास गर्दा पक्राउ परेका श्रेष्ठमाथि किटानी जाहेरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा रहेका थिए।

प्रहरीका अनुसार चोरीको प्रयासमा रहेका श्रेष्ठले साइकलबाहकसँग हातपात र दुर्व्यवहार गरेका थिए, जसपछि उनलाई नियन्त्रणमा लिइएको हो।

मृतकको शव हाल कोशी अस्पतालमै राखिएको छ। आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ, उनीहरू आएपछि कानुनी प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *