श्रेणी : BANNER
वीरगंज (पर्सा), १४ माघ । पर्साको सदरमुकाम वीरगंजको मुख्य बजार क्षेत्र नै पछिल्लो समय चोरहरूको सुरक्षित अखडा बन्दै गएको छ । प्रहरी प्रशासनको कमजोर सुरक्षा व्यवस्था, ढिलासुस्ती र प्रभावहीन अनुसन्धानकै कारण दिनप्रतिदिन चोरीका घटनामा वृद्धि भइरहेको भन्दै सर्वसाधारण आक्रोशित बन्दै गएका छन् ।
यसैको पछिल्लो उदाहरण वीरगंज महानगरपालिका–१५, एनआई कलेज अगाडि जाने बाटोमा रहेको श्यामलाल कर्णको घरमा भएको ठूलो चोरी हो । गत १२ गते राति करिब १ बजेको समयमा घरमा कोही नभएको मौका छोपी चोरहरूले झ्यालको ग्रील तोडी भित्र प्रवेश गरी सुनचाँदीका गरगहना तथा नगदसहित करिब ५० लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी गरेर फरार भएका छन् ।
घरमा जडान गरिएको सीसी क्यामरा फुटेजमा तीन जना व्यक्ति करिब एक घण्टासम्म घरभित्र बसेर दराज तोडफोड गर्दै चोरी गरिरहेको दृश्य स्पष्ट रूपमा कैद भएको छ । अनुहार, हुलिया र गतिविधि प्रस्ट देखिँदा पनि घटना भएको दुईदिन बितिसक्दा समेत प्रहरीले कसैलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
स्थानीयका अनुसार यति स्पष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरीले न त प्रभावकारी खोजतलास गरेको देखिएको छ, न त नियमित गस्ती बढाइएको छ । ‘यदि सीसी क्यामरामा कैद भएका अपराधी पनि सुरक्षित छन् भने आम नागरिकको सुरक्षा कसले गर्छ ?’ स्थानीय व्यापारीहरूको आक्रोशपूर्ण प्रश्न छ ।
बजार क्षेत्र असुरक्षित, चोरहरूको मनोबल उच्च
यो घटना मात्र होइन । केही दिनअघि वडा प्रहरी कार्यालय श्रीपुर नजिकैसमेत चोरीको घटना सार्वजनिक भएको थियो । तर ती घटनामा पनि प्रहरीले कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन । बजार क्षेत्र, कलेज वरिपरि, घना बस्ती र व्यावसायिक केन्द्रमै बारम्बार चोरी हुनु तर अपराधी पक्राउ नपर्नुले चोरहरूको मनोबल उच्च र प्रहरीको उपस्थिति कमजोर देखिएको छ ।
दिनदहाडै प्रहरी गस्ती देखिएपनि राति हुने चोरीका घटनामा नियन्त्रण नहुनु, सूचनापछि पनि ढिलो पुग्नु र अनुसन्धानमा गम्भीरता नदेखिनु प्रहरी प्रशासनको चरम लापरवाहीको उदाहरण भएको स्थानीयवासी बताउँछन् । मुख्य बजार क्षेत्रमा नै ५० लाखभन्दा बढीको चोरी हुँदा पनि अपराधी खुला घुम्नुले व्यापारी र सर्वसाधारण भयभीत बनेका छन् । कतिपयले राति पसल र घरमा बस्नसमेत डर लाग्ने अवस्था सिर्जना भएको बताएका छन् । लगातार बढ्दो चोरीका घटनाले वीरगंजको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
स्थानीयबासी, पीडित परिवार तथा व्यापारी संघहरूले प्रहरी प्रशासनसँग तत्काल विशेष टोली गठन गरी चोरी नियन्त्रण, नियमित रात्री गस्ती, सीसी क्यामरा विश्लेषण र शंकास्पद व्यक्तिमाथि कडा निगरानी गर्न माग गरेका छन् । दोषीलाई छिटो सार्वजनिक गरी कानुनी दायरामा ल्याउन नसके जनआक्रोश अझ चर्किने चेतावनीसमेत दिन थालिएको छ ।
वीरगंज जस्तो व्यस्त र संवेदनशील सहरमा प्रहरी प्रशासनकै कमजोरीका कारण चोरी मौलाउँदै जानु केवल एउटा घरको क्षति मात्र होइन, सम्पूर्ण सहरको सुरक्षा प्रणाली असफल बन्दै गएको संकेत हो ।

प्रतिक्रिया