
श्रेणी : प्रदेश
काठमाडौं,०५ भदाै । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा महिला संख्यालाई अझै बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। प्रहरी प्रधान कार्यालय, नक्सालमा बुधबार सुरु भएको पहिलो महिला प्रहरी सम्मेलनको उद्घाटन गर्दै उनले प्रहरीमा महिला संख्या कम्तीमा २० प्रतिशत पुग्नुपर्ने बताएका हुन्।
उनका अनुसार अहिले प्रहरी संगठनमा महिला कर्मचारीको उपस्थिति करिब २० प्रतिशत हाराहारी मात्र छ। संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि त्यो लक्ष्य तत्कालै पूरा गर्न कठिन हुने उनको भनाइ थियो।
“हामीले आरक्षणको व्यवस्था गरेका छौं। यो दीर्घकालीन प्रक्रिया हो। विस्तारै ३३ प्रतिशतको लक्ष्य पूरा हुन्छ,” गृहमन्त्री लेखकले भने। उनले कानुनअनुसार महिला सहभागिता बढाउन सरकार नीति तथा कार्यक्रम बनाउन र लागू गर्न तत्पर रहेको पनि बताए।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलन घोषणा पत्र जारी गर्दै सम्पन्न हुनेछ। उद्घाटन सत्रमा पहिलो महिला प्रहरीसहित पाँच जनालाई विशेष सम्मान गरिएको थियो।


प्रतिक्रिया