वीरगन्ज :

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरका कर्मचारी दुई महिनादेखि तलबविहिन

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.9kViews
1594 Shares

काठमाडौं,१७ फागुन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन्। प्रशासकीय नेतृत्वको अभावमा पुस र माघ महिनाको तलब रोकिएपछि विशेष गरी तल्लो तहका कर्मचारीहरू आर्थिक संकटमा परेका छन्।

काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं माथि छानबिन भइरहेको कारण गत ५ पुसदेखि उनलाई बिदामा राखिएको थियो। उनले नियमविपरीत काठमाडौं भ्यू टावरको नक्सा पास गरेको आरोप लागेपछि महानगरले उनलाई बिदामा पठाएको हो। तर, उनको स्थानमा अहिलेसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउँदा प्रशासनिक कामकाज ठप्प भएको छ।

महानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २४ पुसमै पत्र पठाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गरेको थियो। तर, अझैसम्म मन्त्रालयले कसैलाई पठाएको छैन। हाल गोविन्द शर्मा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त छन्, तर निमित्तसँग आर्थिक अधिकार नहुने भएकाले तलब भुक्तानी लगायतका काम प्रभावित भएका छन्।

मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह का अनुसार निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नभएकाले तलब दिन नसकिएको हो। “नयाँ प्रशासकीय अधिकृत तत्काल नपठाउने भए, कम्तीमा निमित्तलाई आर्थिक अधिकार प्रत्यायोजन गर्नुपर्छ भन्ने अनुरोध महानगरले गरिसकेको छ,” शाहले भने।

संघीय सञ्चित कोष सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको संयुक्त हस्ताक्षर आवश्यक पर्छ। आम्दानी सञ्चित कोषमा जम्मा भए पनि खर्च कोषमा ट्रान्स्फर गर्न नपाइने भएकाले महानगरका कर्मचारीहरूलाई तलब दिन सम्भव भएको छैन।

महानगरले छानबिन नसक्दा र संघीय सरकारले मागअनुसार प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीहरू आर्थिक समस्यामा परेका छन्। विशेष गरी सफाइ कर्मचारी र तल्लो तहका कर्मचारीलाई दैनिक गुजारा चलाउन कठिन भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *