
श्रेणी : विचार
शारदाप्रसाद त्रिताल ।
प्रधानमन्त्री हुन्छु भन्नेहरुमा काठमाण्डौ उपत्यकाबाट चुनाव लड्ने हिम्मत छ ? प्रधानमन्त्री हुन्छु भन्ने राजनीतिकर्मीहरु धेरै जनाको नाम आइरहेको छ । चाकडीवाजहरुले एउटै व्यक्तिलाई महान देखाउन धेरै ठाउँबाट सांसदको उम्मेद्वारमा नाम सिफारिश गर्ने नाटकहरु पनि गरिरहेका छन् जवकि कानुन अनुसार एक व्यक्तिले एक निर्वाचन क्षेत्रबाट मात्र उम्मेद्वार हुन पाउँछ । पार्टी पद्धतिमा जुन पार्टीले बहुमत ल्याउँछ त्यस पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ । बहुमत नल्याएमा प्रतिनिधिसभामा बहुमतको समर्थन जसले पाउँछ उ प्रधानमन्त्री बन्ने हो । काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा देशका सबै जिल्लाबाट आई बसोबास गर्ने मतदाता छन् ।
देशको संघीय राजधानी रहेको यस उपत्यकामा राजनीतिक रुपमा सचेत र परिवर्तनकारी सोच भएका मतदाता रहेको मानिन्छ ।
आफु प्रधानमन्त्री भएमा यसो गर्छु र उसो गर्छु भन्ने सबै नेताहरु यही उपत्यकामा बसोबास गर्नुहुन्छ (मतदाता नामावली भने सबैको यहाँ छैन) ।
प्रधानमन्त्रीको आकांक्षी मध्ये नेपाली कांग्रेसका प्रकाश मान सिंह र गगन थापा यहींका उम्मेद्वार हुनुहुन्छ ।
गगन थापा आफ्नो निर्वाचन क्षेत्रमा जित्न सक्ने उम्मेद्वारको रुपमा मानिनु हुन्छ । अन्य राजनीतिकर्मीहरु, जो आफुलाई प्रधानमन्त्रीका उत्कृष्ट आकांक्षी मान्नु हुन्छ, उहाँहरु सबै उपत्यकाबाट कुनै गठबन्धन वा तालमेल विना उम्मेद्वार भएर चुनावमा भाग लिन आँट गर्नु होला ?
सबै जिल्लाका नागरिकको प्रतनिधित्व हुने मतदाताले चुनेको व्यक्ति प्रधानमन्त्री भएमा बढी स्वीकार्य पनि मानिन्थ्यो ।
के नेताज्यूहरुले हिम्मत गर्नु होला ? मेरो निष्कर्ष – हालसम्म प्रधानमन्त्री भइसकेका ६ जना‚ उपप्रधानमन्त्री भइसकेका ४ जना र एक महिला जो आफुलाई प्रभावशाली मान्नुहुन्छ‚ उहाँसमेत एघारै जनाले गठबन्धन वा तालमेल नै गरेपनि काठमाण्डौबाट चुनाव जित्न सक्नु हुन्न ।


प्रतिक्रिया