
श्रेणी : अपराध
जनकपुर,३१ असार । धनुषाको सबैला नगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा करिब १५ लाख रुपैयाँ अनियमितता भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट वडाध्यक्षसहितको मिलेमतोमा बजेट हिनामिना भएको पुष्टि भएको हो।
आर्थिक वर्ष २०७७/७८ मा कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई धानको बीउ र बाख्रा वितरण गर्नका लागि सबैला नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर कोभिड महामारीलाई कारण देखाउँदै सार्वजनिक सूचना ननिकालीकन सो रकम अर्चना कृषि सहकारी संस्था लिमिटेड लाई सिधै ठेक्का दिइएको थियो।
वास्तवमा किसानहरूलाई बीउ र बाख्रा वितरण नगरेको गुनासो आएपछि अख्तियारमा उजुरी परेको थियो। छानबिनका क्रममा ठेक्का पाएको सहकारी संस्थाले राधा कृषि फार्मबाट बाख्रा किनेर वडा नं. ८ का वडाध्यक्षलाई वितरण गरिएको भन्दै झुटा बिल पेश गरेको पाइएको छ।
तर राधा कृषि फार्मले त्यस्तो बिक्री नै नगरेको पुष्टि भएपछि अख्तियारले यसलाई योजनाबद्ध भ्रष्टाचार ठहर गरेको हो। अख्तियारका अनुसार किसानहरूका नाममा दिनुपर्ने अनुदानको बाख्रा वडाध्यक्षकै नाममा देखाइ बिल तयार गरी १४ लाख ७७ हजार ५०० रुपैयाँ हिनामिना गरिएको छ।
अख्तियारले सो प्रकरणमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा भोग्नेहरूमा तत्कालीन वडा नं. ८ का वडाध्यक्ष दुर्गा प्रसाद राय, इन्जिनियर रञ्जित कुमार यादव, लेखापाल शिव कुमार झा, पशु सेवा शाखा प्रमुख राजकिशोर सल्हैता, सहकारी अध्यक्ष सञ्जु कुमारी यादव, स्व. प्रशासकीय अधिकृत बालबीर ठाकुरकी पत्नी पलवी ठाकुर र छोरा रौनित ठाकुर छन्।
अख्तियारका अनुसार पलवी र रौनित ठाकुरलाई भने भ्रष्टाचारबापत बिगो असुल गर्नका लागि मात्र प्रतिवादी बनाइएको हो।अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा दोष प्रमाणित भएमा संलग्न व्यक्तिहरूलाई कैद र जरिवाना दुवै सजाय हुनसक्नेछ।


प्रतिक्रिया