वीरगन्ज :

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै

श्रेणी : अन्तर्राष्ट्रिय

2 days
Pradeep Sah
1.8kViews
1146 Shares

काठमाडौं,१४ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्पेन प्रस्थान गर्दैछन्। उनी संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FfD-4)’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुँदै छन्।

स्पेनको सेभिल्ला शहरमा असार १६ देखि १९ गतेसम्म चल्ने यो उच्चस्तरीय सम्मेलनमा विश्वभरका राष्ट्रप्रमुख, आर्थिक तथा व्यापारिक संगठन, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी र नागरिक समाजका अगुवाहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको भ्रमण राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणामा हुन लागेको हो।

नेपालले सम्मेलनमा अल्पविकसित, साना तथा द्वीपीय राष्ट्रहरूको तर्फबाट प्रतिनिधित्व गर्दै समावेशी वित्तीय पहुँच, दिगो लगानी, र धनी मुलुकहरूको प्रतिबद्धताको कार्यान्वयनमा जोड दिनेछ। सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

यसबाहेक, उनले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा प्रधानमन्त्री सान्चेजसहित अन्य राष्ट्र नेताहरूसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको नेतृत्वमा कुल २९ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुँदैछ, जसमा काठमाडौंबाट २१ तथा स्पेन र न्युयोर्कस्थित नियोगबाट ८ जना रहनेछन्।

प्रतिनिधिमण्डलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री कार्यालय सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, राजदूत शनिल नेपाल, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायत उच्च अधिकारीहरू छन्।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै मेड्रिड पुग्नेछन् भने असार २० गते साँझ ४:४५ बजे स्वदेश फर्कने तालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *