
श्रेणी : मधेस
चितवन,१२ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई सबै मोर्चामा असफल भएको दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओलीको बोली, व्यवहार र कार्यहरूले मुलुकलाई अन्धकारतर्फ धकेल्ने चेतावनी दिएका छन्।
भरतपुरमा आजपा निकट आईटी आर्मीको जिल्ला भेलामा सम्बोधन गर्दै अध्यक्ष साहले सुशासन र आर्थिक सुधारका सवालमा ओली सरकारलाई सर्वाधिक असफल ठहराए। उनले संविधान र संसद्ले नचिन्ने राजनीतिक संयन्त्रको आतंक बन्द गर्नुपर्ने र दुई तिहाईको दम्भको आलोचना गर्दै, सरकार भ्रष्टाचारको पक्षमा काम गरिरहेको आरोप लगाए।
साहले वर्तमान सरकारलाई नेपाली जनताको लागि ‘ट्युमर’ जस्तो भएको टिप्पणी गर्दै, यसको विकल्प नेपाली जनताले खोजिरहेको बताएका छन्। विदेश नीति कमजोर बनेको र बीआरआई फ्रेमवर्क सम्झौतासँग सम्बन्धित ऋणको विवाद समेत उठाएका उनले, सरकारको अप्राकृतिक र अलोकतान्त्रिक व्यवहारको आलोचना गरे।
उनले दलतन्त्रको आलोचना गर्दै, शंकर पोखरेल र गगन थापाका विषयमा समेत टिप्पणी गर्दै भने, “यी पात्रहरूले जननिर्वाचित संसद्लाई छल्दै शासनमा असंवैधानिक कदमहरू चाल्न थालेका छन्।”

प्रतिक्रिया