२०८२ बैशाख ९, मंगलबार

वीरगन्ज :
११:३४:४६

प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाएका छन् : प्रभु साह

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.9kViews
1693 Shares

काठमाडौं,२९ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै देश र जनताले त्यसको ठूलो मूल्य चुकाइरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष साहले प्रधानमन्त्री ओलीले पद र शक्तिको दुरुपयोग गर्दै आएको उल्लेख गरेका छन्। उनले भने, “पद र पावर छ भन्दैमा जे पनि गर्ने काम बन्द गर्नुस्। देशले तपाईंको दोहोरो चरित्रका कारण धेरै दुःख भोग्नुपरेको छ।”

साहको टिप्पणी बुधबार सिराहामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट निर्वाचित धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय महतोलाई नेकपा (एमाले) मा प्रवेश गराएको सन्दर्भमा आएको हो।

अध्यक्ष समेत रहेका ओलीले महतोलाई टिका-माला लगाएर एमालेमा स्वागत गर्दा आफू ‘खुसी’ देखिएको प्रसंग उठाउँदै साहले त्यही प्रधानमन्त्रीले २०८० साल असोजमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गरेको घटनालाई उदाहरणस्वरूप उल्लेख गरेका छन्।

साहले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, “यदि विजय महतोको पार्टी प्रवेश वैध हो भने, रिनाकुमारी साहको पदमुक्त के हो?”उनको भनाइमा, एउटै कानुनका दुई फरक व्याख्या र प्रयोग गर्नु आफैँमा अनुचित र अमर्यादित भएको छ।

आजपाले प्रधानमन्त्री ओलीको क्रियाकलापप्रति आपत्ति जनाउँदै राजनीतिक नैतिकता र निष्पक्षताको प्रश्न उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *