
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले नेपालकातर्फबाट स्पष्ट कुरा राख्नुपर्नेमा त्यसो नभएको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीकै कारण परिस्थिति तरंगित भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि देश उत्साही हुनुपर्नेमा देश तरङ्गित हुनुपर्ने कारण बनेको छ । यसले एउटा अविश्वासको, आशंकाको स्थिति बनाएको छ। यो खासमा प्रधानमन्त्रीज्यूकै अभिव्यक्तिले।’
उनले पारवहनको बाटो सट्टापट्टाको विषय नरहेको बताए । अध्यक्ष ओलीले यो विषय पहिले नै टुङ्गिएको र नेपालले सहज रुपमा पारवहनको बाटो पाउने बताए ।
उनले भने, ‘बंगलादेशको बाटोसँग, लिम्पियाधुरा–लिपुलेक साट्ने कुरा आएका छन्। म के सम्झाउन चाहन्छु भने बंगलादेश जाने बाटो अथवा पारवहनको बाटो सट्टापट्टाको विषय होइन ।’
उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले भारतीय अधिकारीहरुसँगको भेटमा छेउमा छोरी राख्नुभएको छ । परराष्ट्रका अधिकारी छैनन् । परिवारको सदस्य राख्नुभएको छ ।’ अध्यक्ष ओलीले प्रधानमन्त्रीको भ्रमण पारिवारिक, धार्मिकजस्तो देखिएको टिप्पणी गरे ।


प्रतिक्रिया