वीरगन्ज :

प्रदेश सरकारको मनपरी योजनाले विकासमा विचौलिया हावी भएकाे जीतपुरसिमरा उपमहानगरपालिकाकाे आरोप

श्रेणी : अर्थ

5 months
Pradeep Sah
1.8kViews
1320 Shares

वीरगंज, ४ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेश सरकारले विकास योजनामा समन्वय नगरी मनपरी तरिकाले योजना सञ्चालन गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। उपमहानगर प्रमुख राजन पौडेलले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र लेख्दै योजनाहरू स्थानीय तहसँग छलफल नगरी अघि बढाइएको उल्लेख गरेका छन्।

प्रमुख पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न मन्त्रालय तथा कार्यालयहरूले उपमहानगरपालिका भित्र बिना समन्वय उपभोक्ता समिति मार्फत योजनाहरू कार्यान्वयन गरिरहेका छन्, जसले दोहोरोपना र बजेटको दुरुपयोग निम्त्याउने सम्भावना बढाएको छ।

नेपालको संविधानको धारा २३२ ले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयको व्यवस्था गरे पनि प्रदेश सरकारले त्यसको पालना नगरेको आरोप पत्रमा लगाइएको छ। विकासमा विचौलिया हावी हुनु, कमिशनको चलखेल हुनुजस्ता गम्भीर आरोपसमेत प्रमुख पौडेलले उल्लेख गरेका छन्।

पालिकाले आफ्नै भवन निर्माण र सडक मापदण्ड कायम गरिसकेको अवस्थामा प्रदेश सरकारले तिनलाई बेवास्ता गर्नु अस्वीकार्य रहेको जनाइएको छ। साथै, स्थानीय तहको संवैधानिक अधिकार अन्तर्गत तथ्यांक संकलन र आयोजनाको अभिलेख व्यवस्थापन गर्ने जिम्मेवारी उपमहानगरपालिकाको भएको स्पष्ट गरिएको छ।

प्रदेश सरकारसँग चालु वर्षमा उपमहानगर क्षेत्रमा सञ्चालन भएका सबै योजनाहरूको विवरण माग गर्दै प्रमुख पौडेलले विकास निर्माण कार्यमा समन्वयका लागि उपमहानगरपालिका सधैं तयार रहेको उल्लेख गरेका छन्।

उक्त पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति बारा, र उपमहानगरपालिकाका उपप्रमुखलाई समेत पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *