श्रेणी : BANNER
वीरगंज (पर्सा), ९ फागुन । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा नेकपा (एमाले) ले चुनाव लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ। शनिबार वडा नम्बर २१ श्रीपुर र वडा नम्बर १२ मा घरदैलो अभियान, सम्पर्क कार्यालय स्थापना तथा पार्टी प्रवेश कार्यक्रम क्रमशः सम्पन्न गरिएको हो।
वडा नम्बर २१ श्रीपुरमा आयोजित कार्यक्रमका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थनको अपिल गरेका थिए। घरदैलो अभियानपछि चुनावी सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो। सोही अवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रेहान मन्सुरीको पहलमा जालिम मियाँ, सैफ अली, इरफान मन्सुरीसहित युवाहरू एमालेमा आबद्ध भएका थिए। नवप्रवेशीलाई उम्मेदवार यादवले अबीर–टीका लगाएर स्वागत गरेका थिए।
त्यसपछि वडा नम्बर १२ मा पुगेका यादवले त्यहाँ पनि घरदैलो कार्यक्रम सञ्चालन गर्दै चुनावी सम्पर्क कार्यालय उद्घाटन गरे। कार्यक्रममा युवा नेता मदन गुप्ताको नेतृत्वमा दर्जनभन्दा बढी स्थानीय युवाहरू एमालेमा प्रवेश गरेका थिए। उनीहरूलाई पनि यादवले पार्टीमा स्वागत गरेका थिए।
दुवै स्थानका कार्यक्रमलाई सम्बोधन गर्दै यादवले जनताबाट प्राप्त समर्थन र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले अधिकार सुनिश्चितता, सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाको सक्रिय सहभागिताबिना परिवर्तन सम्भव नहुने धारणा राखे। युवाका आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर योजना अघि बढाइने उनले स्पष्ट पारे।

प्रतिक्रिया