
श्रेणी : प्रदेश
काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा तीन महत्त्वपूर्ण विधेयकहरू पेस हुने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ पेस गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अनुमति प्राप्त भएपछि सो विधेयक संसद्मा पेस गरिनेछ। देशको डिजिटल सुरक्षा सुदृढ बनाउने उद्देश्यले तयार पारिएको यो विधेयकले साइबर अपराध नियन्त्रण तथा सूचना प्रविधि सम्बन्धी व्यवस्थाहरूलाई थप स्पष्ट र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ पेस गर्न अनुमति माग्नेछन्। यो विधेयक औद्योगिक नवप्रवर्तन, ब्रान्ड, पेटेन्ट तथा बौद्धिक सम्पत्तिको संरक्षण र व्यवस्थापनसँग सम्बन्धित रहेको छ।
अर्कोतर्फ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा राष्ट्रियसभाबाट गरिएका संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्।


प्रतिक्रिया