
श्रेणी : अर्थ
काठमाडौं,१४ असार । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। आजको बैठकमा बजेटसम्बन्धी विधेयकहरू पारित गर्ने प्रमुख कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई आजको बैठकबाट पारित गरिने तयारी छ।
त्यस्तै, लामो समयदेखि चर्चामा रहेको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत आजको सम्भावित कार्यसूचीमा परेको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्।
आजै स्पेन प्रस्थान गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन लागेको भ्रमणबारे संसदलाई जानकारी दिने कार्यक्रम पनि बैठकमा रहेको छ।
प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिन स्पेनको सेभिल्ला प्रस्थान गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया