
श्रेणी : BANNER
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ । १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्न इच्छुक सांसदले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक सुरु हुनु तीन दिनअघि सभामुखलाई गराउनुपर्नेछ । यो व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे लिखित जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ ।
१५ जना प्रश्नकर्तामध्ये नेपाली कांग्रेस र नेकपा एमालेका तीन/तीन जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका एक/एक सांसदले प्रश्न सोध्न पाउनेछन् । प्रश्नकर्ता सांसदहरुका अनुसार पाँच जनाको प्रश्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको प्रकरणसँग सम्बन्धित छन् ।

प्रतिक्रिया