
श्रेणी : प्रदेश
काठमाडौं,०१ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने कार्यक्रम रहेको छ।
बैठकमा सर्वप्रथम राष्ट्रिय सभाबाट प्राप्त “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी सन्देशसहितको प्रतिवेदन टेबुल गरिनेछ। उक्त विधेयक समुन्द्री तथा आन्तरिक जलयात्रा व्यवस्थापनसँग सम्बन्धित रहेकाले यसले नेपालमा जल यातायातको विकासमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
त्यसपछि, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामती सेवा विधेयक, २०८२” सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेस गर्ने कार्यक्रम छ। यो विधेयकले संघीय निजामती सेवाको संरचना, सेवा, शर्त तथा व्यवस्थापनलाई स्पष्ट पार्नेछ।
यस्तै, बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र खर्चको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तयारीमा छन्। यससँगै नयाँ आर्थिक वर्षको बजेटमाथि संसदमा औपचारिक बहस प्रारम्भ हुनेछ।

प्रतिक्रिया