
श्रेणी : राष्ट्रिय
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका छन् ।
शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि पनि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।
प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उनले बताए ।
निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अथ्र्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।
उनले भने, ‘निर्वाचनमा हामीले फेरि प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकताको प्रदर्शन गर्नुपर्नेछ । र, नेपाली जनताको त्यो एकताको प्रदर्शन जसरी १२ बुँदे सम्झदारी र विस्तृत शान्ति सम्झौंता, संविधान जारी गर्दा जसरी हामीले एकता प्रर्दशन गरेको थियौं । त्यसैगरी आउने मंसीर ४ गतेको निर्वाचनमा पनि देशभरीका जनताले गठबन्धनको नेतृत्व अन्तरगत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्याधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरी राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन् । त्यसकारण म चितवनबासी तपाई दिदीबहिनी, दाजुभाइहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–हामीले इतिहासको यो अवसर बिल्कुल गुम्न दिनु हुँदैन ।’ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने बताए ।

प्रतिक्रिया