
श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा देउवाले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताएका हुन् ।
प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो । “प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ”, सभापति देउवाले भने । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, युनियनका संस्थापक नेता शोभाकर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाललगायतले लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा श्रमजीवी पत्रकारले कलम चलाउनुपर्ने बताए ।
उनीहरुले सञ्चार क्षेत्र कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउन नेपाल प्रेस युनियन लाग्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई शुद्धिकरण गर्दै संस्थागत ढङ्गले अगाडि बढाउनका लागि वर्तमान कार्यसमिति लागिपरेको बताए ।
युनियनका उपाध्यक्ष नकुल अर्यालले लोकतन्त्रप्रति प्रतिबद्ध नेपाल प्रेस युनियनलाई पार्टीको महाधिवेशन प्रतिनिधि बनाउने चलनको अन्त्य हुनुपर्ने बताए । विसं २०४८ जेठ १३ गते स्थापना भएको नेपाल प्रेस युनियनले २०८० साललाई ‘प्रशिक्षण वर्ष’का रुपमा अगाडि बढाउन लागेको महासचिव दिलीप पौडेलले जानकारी दिए । प्रशिक्षण वर्षमा युनियनले देशैभरि पत्रकारको हक, हित र अधिकारका साथै उनीहरुको क्षमता अभिवृद्धि र समाचार लेखन विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया