श्रेणी : पर्यटन
काठमाडौँ, २४ पुस । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ। गत साउनयता तीन पटक गरेर ४१ वटा गोही, एक भालेसहित, नदीमा प्राकृत स्थानमा फर्काइएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष थप ६० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छोड्ने योजना रहेको छ। गत वर्ष एक सय पाँच गोही नदीमा छोडिएको थियो, र नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा हुर्काइएको बच्चालाई छोड्ने प्रक्रिया जारी छ ।
हालसम्म राप्ती, नारायणी र अन्य नदीहरूमा एक हजार नौ सय ९८ गोही प्राकृत बासस्थानमा छोडिएका छन्। थापामगरका अनुसार, गोहीका बच्चाको दररेट अझै कम छ। गत वर्षको सर्वेक्षण अनुसार राप्ती नदीमा एक सय ५२ र नारायणी नदीमा एक सय ३ गोही भेटिएका थिए ।
प्रजनन केन्द्रमा अहिले सात सय ५९ गोही छन्, जसमा एक सय ९५ भुरा, चार सय ३२ किशोर, एक सय अर्धवयस्क र ३२ वयस्क गोही रहेका छन् ।
घडियाल गोही अहिले संकटापन्न प्रजातिको सरीसृप प्राणी हो, जसको सङ्ख्या सन् १९४० मा १० हजार जति थियो, तर सन् १९७० सम्ममा यो सङ्ख्या घटेर मात्र २ प्रतिशत रहन पुगेको थियो। यसको संरक्षणको आवश्यकता बढ्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जको स्थापना पछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापन गरिएको थियो ।
नदीमा बढ्दो मानवीय गतिविधि, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण र माछा मार्ने जस्ता कारणले घडियालहरूको प्राकृतिक बासस्थान असुरक्षित बनेको छ। साथै, नदीमा बाढी आउँदा गोहीहरू बगेर सीमापार पुग्ने समस्यासमेत रहेको छ ।
प्रतिक्रिया