वीरगन्ज :

प्याब्सन अन्तरविद्यालय टी–२० क्रिकेट र जुनियर फुटबल प्रतियोगिता बीरगन्जमा सुरु

श्रेणी : खेलकुद

2 months
Pradeep Sah
2.4kViews
1266 Shares

बीरगन्ज,०५ फागुन । बीरगन्जमा आजदेखि प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता सुरु भएको छ। प्याब्सन पर्साको आयोजनामा बीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भव्य उद्घाटन गरिएको प्रतियोगितामा जिल्लाभरका २७ विद्यालयको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय सदस्य डिके ढुंगाना र मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, पर्सा क्रिकेट सङ्घका अध्यक्ष ई. मनिष सिंह, प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साहलगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै ढुंगानाले विद्यालयहरू खेलाडी उत्पादन गर्ने पहिलो थलो भएको उल्लेख गर्दै नेपालमै खेलकुद विश्वविद्यालय स्थापना गरी खेल शिक्षा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। मधेस विश्वविद्यालयका उपकुलपति शाक्यले यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउने बताए।

प्रतियोगिता अन्तर्गत क्रिकेट खेल फागुन १४ गतेसम्म नारायणी क्रिकेट मैदानमा सञ्चालन हुनेछ भने फुटबल खेल फागुन १० गतेसम्म विपद् व्यवस्थापन गुल्म बीरगन्जको खेलमैदानमा खेलाइनेछ।

यस वर्ष प्रतियोगितामा नगद पुरस्कारको व्यवस्था गरिएको छ। क्रिकेटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने फुटबलतर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, र बेस्ट डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए।

प्रतियोगितामा सहभागी ८०० खेलाडीका लागि २५ हजार रुपैयाँसम्मको सुरक्षा बिमा गरिएको छ। यस वर्ष पहिलो पटक ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकाका विद्यालयहरूले पनि सहभागिता जनाएका छन्।

प्याब्सन पर्साका अध्यक्ष चौधरीले विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताए। उद्घाटन कार्यक्रममा सहभागी विद्यालयहरूले झाँकी तथा विभिन्न भेषभूषासहित मार्चपास प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *