वीरगन्ज :

पोखरिया मालपोत कार्यालयमा सेवा ठप्पजस्तै जनशक्ति र प्रविधिको अभावले सेवाग्राही हैरान

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.3kViews
1750 Shares

बीरगन्ज,१२ जेठ । पर्सा जिल्लाको पोखरिया नगरपालिका स्थित मालपोत कार्यालयमा सेवा प्रवाहमा चरम समस्या देखिएको छ। जनशक्ति, प्रविधि र पूर्वाधारको अभावले गर्दा कार्यालयमा दैनिक सेवा लिन आउने सेवाग्राहीहरूलाई भारी मर्का परेको छ।

सेवाग्राहीहरूका अनुसार विद्युत् आपूर्ति अनियमित हुनु, जेनेरेटरको अभाव, र कमजोर कम्प्युटर नेटवर्कका कारण कामकाज ठप्प हुने अवस्था बारम्बार दोहोरिएको छ। “एक घण्टाको काम गर्न दिनभर लाइन बस्नुपर्छ, कहिले लाइट जान्छ, कहिले सिस्टम काम गर्दैन,” पोखरिया नगरपालिकाका एक सेवाग्राहीले गुनासो गरे।

कार्यालयको स्थलगत निरीक्षण गर्दा पनि अधिकांश सेवाग्राहीहरू यस्तै समस्या खेपिरहेका देखिन्छन्। कतिपयले त कार्यालयमा आधारभूत सुविधासमेत नभएको बताउँदै, सरकारको उपेक्षाप्रति गहिरो असन्तुष्टि जनाएका छन्।

हाल कार्यालयमा न त पर्याप्त कर्मचारी छन्, न त आवश्यक प्रविधीय उपकरण। जसले गर्दा साना काम गर्न पनि सेवाग्राहीहरू दिनभर समय खर्चन बाध्य छन्।

स्थानीय बासिन्दाहरूले तत्काल स्थायी नेटवर्कको सुनिश्चितता, जेनेरेटरको व्यवस्था र आवश्यक जनशक्ति थप गर्न माग गरेका छन्। साथै, कार्यालयमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोग गरिनुपर्नेमा समेत जोड दिएका छन्।

यो समस्या पहिले पनि उठिरहेकाले अब भने सम्बद्ध निकायले गम्भीरताका साथ ध्यान दिनु पर्ने सेवाग्राहीहरूको जोड रहेको छ। “हामी सेवा लिन आएका हौं, सास्ती भोग्न होइन,” एक स्थानीयले भावुक गुनासो गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *