श्रेणी : BANNER
वीरगंज (पर्सा), २२ असार । इलाका प्रहरी कार्यालय पोखरियाले आर्थिक नजराना बुझी तस्करीको लाइन खोलेको छ । भर्खरै केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पोखरियाका कार्यभार सम्हालेका प्रहरी निरीक्षक राजन ढकालले तस्करीको लाइन खुल्ला गरेका हुन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने प्रसौनी भाठ्ठा, धोरे, जानकी टोला, आस्वारी लगायतको नाकाबाट अहिले व्यापक तस्करी भइरहेको छ ।
राति मात्रै नभई दिन दहाडै तस्करहरुले तस्करीको सामान भारतबाट नेपाल भित्र्याई रहेका छन् । मोटरसाइकलमा तस्करीका सामान लोड गरि सीमा क्षेत्रमा खटेका इलाका प्रहरी कार्यालय पोखरियाका टोलीलाई आर्थिक नजराना बुझाई तस्करी गर्ने गरेको प्रत्यक्षदर्शीहरुले वताएका छन् । तस्करहरुले किरानाका सामान, हार्डवेयर, कुखुराको चल्ला, कपडा लगायतका सामानहरु तस्करी गर्ने गरेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर ढकालको मातहतका प्रहरी टोलीले सीमा क्षेत्रमा तस्करहरुसँग रकम असुली तस्करी गराई रहेको स्थानीयहरुको आरोप छ ।
इन्स्पेक्टर ढकालले घुमुवा प्रहरी मार्फत तस्करहरुसँग सेटिङ्ग गरेर तस्करीको लाइन खोलेको श्रोतले बताएको छ । नेपाल भारतको मुख्य नाका वीरगंज भन्सारमा तस्करीको लाइन बन्द भएपछि अहिले ग्रामीण भेगबाट तस्करीको लाइन खुलेको छ । वीरगंज क्षेत्रका तस्करहरु अहिले ग्रामीण भेगलाई निशाना बनाएका छन् । उनीहरु अहिले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक ढकाललाई मात्रै महिनावारी नजराना बुझाएर सहज तरिकाले तस्करीको सामान नेपाल भित्रयाई रहेका छन् ।
अहिले ग्रामीण क्षेत्रका किराना पसलहरुमा तस्करीको सामान छ्यापछ्याप्ती देख्न सकिन्छ । खास गरेर ग्रामीण क्षेत्रका पसलहरुमा नेपालमा उत्पादित खाद्यान्न सामाग्री भन्दा पनि भारतबाट आयातित खाद्यान्न सामाग्री बढि देख्न पाइन्छ । प्रहरी अहिले शान्ति सुरक्षा दिनुभन्दा पनि कसरी बढि भन्दा बढि तस्करबाट पैसा असुल्न सकिन्छ भन्ने मनसायमा तल्लिन भएको देखिन्छ ।
इन्स्पेक्टर ढकाल ‘ऐनी हाउ, पैसा कमाउ’ भन्ने मनसायले समाजमा शान्ति सुरक्षा दिनुभन्दा पनि सीमा क्षेत्रमा तस्करहरुबाट पैसा असुल्न प्रहरी खटाएको भन्ने त्यहाँ हुने तस्करीबाट सहजै अनुमान लगाउन सकिन्छ । दिउसाे कै समय मै खुल्याम तस्करी भइरहेकाे भिडियाे समेत प्राप्त भएकाे छ । वीरगंज टाईम्स
प्रतिक्रिया