श्रेणी : अन्तर्राष्ट्रिय
पाेखरा, १४ पुस । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालमा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ। नेपाल, चीन र सिङ्गापुरका खेलाडीहरूको सहभागितामा सुरु भएको यो प्रतियोगिता पुस १५ गतेसम्म चल्नेछ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने यो फेस्टिभलमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा चीनका ८ टोली, सिङ्गापुरका १ टोली र नेपालका ११ टोली सहभागी हुनेछन् ।
चीनको छेन्दुबाट चार्टर विमानमार्फत पुस ११ गते पोखरा आएका १२९ खेलाडीले फेवातालमा नियमित अभ्यास गरिरहेका छन्। नेपालका टोलीमा गण्डकी, बागमती, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, ड्रागन बोट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएसन (नारा) शामिल छन् ।
प्रतियोगितामा पाँच सय मिटर र दुई सय मिटर दौडका विजेतालाई ५ हजार अमेरिकी डलर, उपविजेतालाई २ हजार डलर र तेस्रो हुने टोलीलाई १ हजार २ सय डलर नगद पुरस्कार प्रदान गरिने छ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आयोजना गरिएको यो फेस्टिभलले पर्यटकहरूको आकर्षण बढाउने विश्वास राखिएको छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
यो फेस्टिभलले नेपालको पर्यटन प्रवर्द्धनसँगै दुई देशबीचको जनस्तरसम्मको सम्बन्धलाई अझ सुमधुर बनाउने अपेक्षा गरिएको छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया