वीरगन्ज :

पैसा अभावले उपचार रोकिँदा नेशनल मेडिकल कलेजमा बालकको मृत्यु

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.2kViews
1536 Shares

बीरगन्ज,२६ साउन । बीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको लापरबाही र आर्थिक लोभका कारण सर्लाहीका दुई वर्षीय बालकको मृत्यु भएको गम्भीर आरोप लागेको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ अत्रौलीका जितेन्द्र महतोका एक मात्र छोरा २ वर्षीय इकृत महतो रहेका छन् ।

आइतबार दिउँसो सडक छेउमा खेलिरहेको समयमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका इकृतलाई प्रारम्भिक उपचारका लागि हरिवनस्थित नमुना अस्पताल लगिएको थियो । थप उपचार आवश्यक भएपछि उनलाई एम्बुलेन्समार्फत बीरगन्जको नेशनल मेडिकल कलेज ल्याइएको थियो । तर, बालकका हजुरबुवा रामपुकार महतोका अनुसार, अस्पतालले आर्थिक रकम जम्मा नभएसम्म भर्ना गर्न र उपचार सुरु गर्न अस्वीकार गरेको कारण इकृतको ज्यान गएको हो ।

रामपुकारका अनुसार, इकृतलाई साँझ ७ बजे अस्पताल ल्याइएको थियो । तर, आफन्तहरूसँग तत्काल पर्याप्त रकम नहुँदा अस्पतालले भर्ना प्रक्रिया अगाडि बढाएन । अस्पताल प्रशासनले पैसा जम्मा गर्न दबाब दिएको र आफन्तहरूले स्थानीय पसलबाट १० हजार र एम्बुलेन्स चालकबाट ३ हजार रुपैयाँ जुटाएपछि मात्रै झन्डै दुई घण्टापछि उपचार सुरु भएको उनले बताए । “उपचार ढिलो सुरु भएकै कारण राति साढे ९ बजे मेरो नातिको मृत्यु भयो,” रामपुकारले यात्रा डेलीसँग दुखेसो पोखे, “पैसाकै लागि नातिको हत्या भयो ।”

रामपुकारले अस्पताल प्रशासनले बारम्बारको हारगुहारलाई समेत बेवास्ता गरेको र पैसा जम्मा नभएसम्म उपचार नगर्ने अडान लिएको आरोप लगाए । “सुरुमा पैसा जम्मा गर्दैनन्, अनि पछि केही भएपछि बिरामीका आफन्तहरू झगडा गर्दै पैसा दिन मान्दैनन्,” भन्दै अस्पताल प्रशासनले उपचारमा ढिलाइ गरेको उनले भने ।

उनले अस्पतालको रवैयाले आफ्नो नातिको ज्यान गएको भन्दै यसलाई ‘हत्या’ को संज्ञा दिए । रामपुकारले अस्पतालको लापरबाहीको गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

यता, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले घटनाबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन् । उनले आकस्मिक अवस्थामा आएका बिरामीहरूलाई पैसा जम्मा नभएको भन्दै उपचार रोक्ने कुरा असत्य भएको जिकिर गरे । “हाम्रो पहिलो प्राथमिकता आकस्मिक बिरामीको उपचार हो । पैसा जम्मा नभएको कारण उपचार रोकिन्छ भन्ने कुरा गलत हो,” उनले भने । यद्यपि, उनले घटनाबारे थप बुझ्ने प्रतिबद्धता व्यक्त गरे ।

घटनाले नेशनल मेडिकल कलेजको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई समयमै उपचार नदिँदा ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुखद भएको स्थानीयहरूको भनाइ छ । इकृतको मृत्युले स्वास्थ्य क्षेत्रमा रहेको आर्थिक प्राथमिकता र मानवीय संवेदनशीलताको कमीमाथि बहस सुरु भएको छ ।

इकृतका आफन्त र स्थानीयले घटनालाई लिएर अस्पताल प्रशासनको लापरबाहीमाथि गहिरो अनुसन्धानको माग गरेका छन् । उनीहरूले यस्ता घटनाले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका छन् । साथै, यस्ता घटना दोहोरिन नदिन र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *