वीरगन्ज :

पेट्रोल र मट्टितेल पाइपलाइनबाटै ल्याउने भएसँगै ट्र्याङ्कर व्यवसायीहरू मारमा

श्रेणी : अर्थ

7 months
Pradeep Sah
3.0kViews
1060 Shares

वीरगन्ज, १५ पुस । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरण निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्ज रुटमा पेट्रोल र मट्टितेल ढुवानीमा प्रयोग हुँदै आएका १०४ टैंक–ट्र्याङ्कर विस्थापित हुने भएका छन्। नेपाल आयल निगमले अब पेट्रोल र मट्टितेल पनि पाइपलाइनमार्फत ढुवानी गर्ने निर्णय गरेपछि यो विषयले ढुवानी व्यवसायी र मजदूर सङ्गठनहरूलाई असर पुर्‍याएको छ ।

बरौनी–अमलेखगञ्ज रुटमा ढुवानी गर्दै आएका तीन प्रमुख सङ्गठनहरूले उचित व्यवस्थापनका लागि पुस २४ सम्म समयसीमा निर्धारण गर्दै माग राखेका छन्। ढुवानी व्यवसायीहरूले ट्रक र ट्र्याङ्करहरूको पुनः व्यवस्थापन, निजी ढुवानीको करार सम्झौता, र व्यवसायीहरूको रोजगार सुनिश्चित गर्न माग गरेका छन्।

ढुवानी व्यवसायी सङ्घका अध्यक्ष सुदामाप्रसाद साह कानुले आयल निगमबाट पत्र प्राप्त भएपछि तत्कालको आन्दोलन १० दिनका लागि स्थगित गरिएको जनाए। आन्दोलन स्थगनपछि पनि माग पूरा नभए थप चरणबद्ध आन्दोलन सुरु हुने चेतावनी दिएका छन् ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यले व्यवसायीको माग सम्बोधन गर्न स्थानीय कार्यालय असमर्थ रहेको बताएका छन्। उनले मागहरू केन्द्रीय कार्यालयमा पठाइसकेको र त्यसको समाधानका लागि सहजीकरण गरिने जानकारी दिए ।

पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल ढुवानीको काम यही पुस महिनाभित्रै सुरु हुने जनाइएको छ। यसले ढुवानी खर्च र समय बचत भए पनि १०४ ट्र्याङ्कर विस्थापनसँगै व्यवसायी र मजदूरका रोजगारीमा असर पर्ने विषयले चुनौती थपेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *