श्रेणी : मधेस
वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा (एमाले) नेतृ रिमा यादवले घरदैलो अभियानलाई तीव्रता दिएकी छन्। विशेषगरी युवा पुस्ता र जेनजी समूहबाट उनलाई उल्लेखनीय समर्थन मिलिरहेको देखिएको छ।
बुधबार पर्सागढी नगरपालिका–९ को एकटांगा क्षेत्रमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा यादवले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिन्। कार्यक्रममा सहभागी मतदाताहरूले नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै शिक्षित र ऊर्जाशील उम्मेदवारका रूपमा यादवलाई सकारात्मक रूपमा लिएको बताएका थिए।
भेटघाटका क्रममा केही स्थानीय मतदाताहरूले परम्परागत नेतृत्वभन्दा फरक सोच र दृष्टिकोण भएका उम्मेदवारलाई साथ दिने निर्णय गरेको जनाउँदै यादवलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार यादवले क्षेत्रको पूर्वाधार विकास, रोजगारीका अवसर विस्तार, स्वास्थ्य सेवा सुधार, शिक्षा क्षेत्र सुदृढीकरण तथा समाजकल्याणका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन्। उनले पर्सा–२ मा अझै धेरै विकासका काम बाँकी रहेको उल्लेख गर्दै ती योजनाहरू पूरा गर्न आफू चुनावी प्रतिस्पर्धामा रहेको स्पष्ट पारिन्।
घरदैलो कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, एमाले नेतृ सिता लामा लगायत ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
यसै क्रममा बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेलीसहित दुई जना वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि पर्सा क्षेत्र नम्बर–२ मा पार्टीको संगठनात्मक अवस्था थप मजबुत बन्दै गएको बताइएको छ।

प्रतिक्रिया