वीरगन्ज :

पूर्वसहकर्मीहरूसँगै कडा प्रतिस्पर्धा : सप्तरी–२ मा सीके राउतको पूर्वसहकर्मीहरू उनीविरुद्ध चुनावी मैदानमा

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.4kViews
1966 Shares

जनकपुर,०८ माघ । सप्तरी–२ को प्रतिनिधिसभा निर्वाचन यसपटक पनि चासो र चर्चाको केन्द्र बनेको छ। २०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै यही क्षेत्रबाट जित हासिल गरेका थिए। तर यसपटक राउतको चुनौती झन् जटिल बन्दै गएको छ, किनकि उनका आफ्नै पूर्वसहकर्मीहरू उनीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव राउतले क्षेत्र नछाडेपछि सप्तरी–३ सरेका छन्। सप्तरी–२ मा भने जसपा नेपालले नेता उमेश यादवलाई उम्मेदवार बनाएको छ।

राउतका लागि सबैभन्दा ठूलो चुनौती भनेका उनकै पार्टीबाट छुट्टिएका दुई प्रभावशाली नेता हुन्। जनमत पार्टीबाट मधेस प्रदेशका मुख्यमन्त्री भइसकेका सतिश सिंहले स्वाभिमान पार्टीबाट राउतविरुद्ध उम्मेदवारी दिएका छन्। त्यस्तै, जनमत पार्टीका पूर्वप्रवक्ता तथा राउतका निकट मानिने डा. शरतसिंह यादवले आफ्नै नेतृत्वमा गठन गरेको जनअधिकार पार्टीबाट उम्मेदवारी दिएका छन्। संयोगवश, दुवै नेता पार्टी विभाजनको कारण बनेका विवादपछि अहिले राउतकै विपक्षमा उभिएका छन्।

‘पुस्तान्तरण आन्दोलन’ (जेनजी आन्दोलन) पछाडि मुख्यमन्त्री सतिश सिंहलाई राजीनामा गर्न बाध्य पारिएको घटनाले जनमत पार्टीभित्र विवाद चुलिएको थियो। पछि अदालतबाट पार्टीसम्बन्धी निर्णय आएपछि सतिश जनमतमै फर्किए पनि उम्मेदवारी दर्ताको अघिल्लो दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट राउतविरुद्ध मैदानमा उत्रिएका हुन्।

शरतसिंह यादवले पनि आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको माग गर्दै राउतको राजीनामा मागेका थिए। तर उल्टै पार्टी छाड्न दबाब परेपछि उनले जनअधिकार पार्टी गठन गरी अहिले प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सतिश र शरतसिंहको उम्मेदवारीले राउतको मत कटिने सम्भावना बढेको छ, जसको फाइदा जसपा नेपालका उमेश यादवलाई पुग्न सक्ने आँकलन गरिएको छ।

गत निर्वाचनमा राउतले ३५ हजार ४२ मत ल्याउँदै सहज जित हासिल गरेका थिए भने उपेन्द्र यादवले १६ हजार ९७९ मत पाएका थिए। त्यतिबेला लोसपाका उम्मेदवार जेपी ठाकुरले सात हजार ३४७ मत ल्याएका थिए। अहिले भने जसपा र लोसपा एकीकृत भइसकेका छन्। तर यसपटक कुनै पनि प्रमुख दलबीच औपचारिक गठबन्धन छैन, सबै दल आ–आफ्नै बलमा मैदानमा छन्।

यस क्षेत्रबाट नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न नयाँ तथा साना दलका उम्मेदवार गरी ३२ जनाले उम्मेदवारी दिएका छन्। तर प्रारम्भिक प्रतिक्रिया अनुसार मुख्य प्रतिस्पर्धा सीके राउत, सतिश सिंह र जसपा नेपालका उमेश यादवबीच नै हुने देखिन्छ।

सप्तरी–२ मा दोहोर्‍याएर जित्ने इतिहास नदेखिएकाले राउतका लागि यो चुनाव थप चुनौतीपूर्ण बनेको छ। पत्रकार श्यामसुन्दर यादवका अनुसार २०५६ पछि यहाँबाट कुनै पनि उम्मेदवारले दोहोर्‍याएर जित हासिल गर्न सकेका छैनन्। गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंहदेखि उपेन्द्र यादवसम्मको राजनीतिक इतिहास बोकेको यो क्षेत्रमा मतदाताको निर्णय अप्रत्याशित रहने गरेको छ।

पहिलोपटक संसद् प्रवेश गर्दा ‘वैकल्पिक शक्ति’को छविसहित उदाएका राउत अहिले आफ्नै पार्टी विभाजन, कमजोर संगठन र कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन्। सप्तरी–२ मा यसपटक पनि नयाँ इतिहास दोहोरिन्छ कि राउत अपवाद बन्छन् भन्ने प्रश्नले चासो बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *