
श्रेणी : अपराध
काठमाडौं,०७ जेठ । चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजित प्रदर्शनमा देखिएको हिंसात्मक घटनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ।
उक्त प्रदर्शनमा आगजनी र हिंसात्मक गतिविधिका कारण एक जनाको मृत्यु भएपछि प्रारम्भ गरिएको अनुसन्धानमा आठ जनालाई ज्यानसम्बन्धी गम्भीर कसुरमा अभियोजन गर्न सिफारिस गरिएको हो। काठमाडौँ प्रहरी परिसरले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बुधबार साँझसम्म प्रतिवेदन बुझाउने प्रक्रिया टुंग्याइनेछ। प्रदर्शनको क्रममा आगजनी हुँदा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा पूर्ण क्षति पुगेको थियो। आगलागीमा परी पत्रकार सुरेश रजकको ज्यान गएको थियो।
सोही घटनालाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाई, नवराज सुवेदीसहित आठ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रहरीले आरोपितहरूमध्ये रामेछापको सुनापति गाउँपालिका निवासी २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका–५ निवासी २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरीको नाम विशेष रूपमा उल्लेख गर्दै उनीहरू आगजनीमा संलग्न रहेको निष्कर्ष निकालेको छ।
प्रहरीले आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, र संगठित अपराध सम्बन्धी मुद्दामा अभियोजन गर्नुपर्ने स्पष्ट राय दिएको छ। यी सबै अभियोग गम्भीर प्रकृतिका अपराध अन्तर्गत पर्छन्, जसको सजाय कानुन अनुसार कठोर हुन सक्छ।
तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेकामध्ये २६ जना विरुद्ध राज्य विरुद्धको कसुर र २७ जना विरुद्ध आपराधिक उपद्रव अभियोगमा अनुसन्धान जारी राख्दै म्याद थप गरिएको छ। अन्य थुप्रै व्यक्तिहरूलाई भने प्रहरी हिरासतबाट हाजिर जमानीमा रिहा गरिएको छ।
पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा यति ठूलो हिंसा र क्षतिको घटना भएपछि सो प्रदर्शनको उद्देश्य, नेतृत्व र योजनामाथि पनि प्रश्न उठ्न थालेको छ। यद्यपि दुर्गा प्रसाईं र अन्य नेताहरूले प्रदर्शनलाई शान्तिपूर्ण भनिरहेका थिए, तर घटनाको अन्त्य अत्यन्तै भयावह भएको थियो।
अब सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदनको आधारमा अभियोजन प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ। यो मुद्दाले केवल कानुनी मात्र नभई राजनीतिक असर पनि पार्ने सम्भावना देखिन्छ।


प्रतिक्रिया