वीरगन्ज :

पूर्वमन्त्री यादव, मेयर थापा र अन्य ६ जनाविरुद्ध ३० करोडभन्दा बढी भ्रष्टाचारको मुद्दा

श्रेणी : अपराध

9 hours
Pradeep Sah
1.8kViews
1043 Shares

वीरगन्ज,०४ जेठ । मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय कुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार सम्बन्धी अर्को मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी अनुदान वितरण र स्वीकृतिमा संलग्न भएको आरोपमा उनीहरूसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका अनुसार ३० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रुपमा वितरण गरिएको भन्दै मुद्दा अघि बढाइएको हो। आरोपीहरूमध्ये बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, प्रदेश सरकारका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, इन्जिनियर निरन्जन लामिछाने, सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलसमेत छन्।

मागदाबीको विवरण यस्तो छ :
पूर्वमन्त्री यादवसँग रु. २९ करोड ९९ लाख ८६ हजार १३५

मेयर र उपमेयरसँग संयुक्त रूपमा रु. ५६ करोड ७१ लाख ७ हजार २९२

कानुन अधिकृत गोकुल भुजेलसँग पनि रु. २९ करोड ९९ लाख ८६ हजार १३५

इन्जिनियर लामिछानेसँग रु. १० करोड १४ लाख ९५ हजार

इन्जिनियर सागर पौडेलसँग रु. ४६ करोड ५६ लाख १२ हजार २९२

लेखा अधिकृत विश्वराज पोखरेलसँग रु. ५६ करोड ३ लाख ३४ हजार ४०४

यी सबै व्यक्ति यसअघि नै चर्चामा रहेको बागमती नगरपालिका भरत ताल भ्रष्टाचार प्रकरणमा मुछिएका थिए र मुद्दा दर्तापछि निलम्बनमा परेका थिए।

सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा पर्ने वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माण गर्ने नाममा ढुंगा, गिटी, बालुवा र माटो उत्खनन गरिएको थियो। उक्त काम संघ र प्रदेश सरकारको करोडौं बजेटबाट गरिएको बताइएको छ। तर, ती संरचनाहरू अवैध रहेको प्रमाणित भएपछि अख्तियारले यो नयाँ मुद्दा अघि सारेको हो।

मेयर थापा यसअघि पनि अकूत सम्पत्ति आर्जन र अनियमितताको आरोपमा मुछिँदै आएका थिए। थापा र उपमेयर मुक्तान माओवादी केन्द्रका हुन् भने पूर्वमन्त्री यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *