वीरगन्ज :

पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन

श्रेणी : अपराध

1 hour
Pradeep Sah
1.6kViews
1701 Shares

काठमाडौँ,३० चैत । पोखराको लिचीबारी जग्गा प्रकरणसँग जोडिएको बहुचर्चित भ्रष्टाचार मुद्दामा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित सात जनाविरुद्ध विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू नारायणप्रसाद कोइराला र उमेश कोइरालाको इजलासमा मुद्दाको पेसी तोकिएको हो।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ गते तत्कालीन मन्त्री गुप्तासहितका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाउँदै घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप छ।

अनुसन्धानका क्रममा गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठबीच मिलेमतोमा पदको दुरुपयोग गर्दै रकम लिएको अभियोग पनि लगाइएको छ। आयोगले कुल ७८ लाख रुपैयाँ बराबरको घुस कारोबार भएको दाबी गरेको छ।

मुद्दामा अडियो संवाद, बैंक कारोबार विवरण तथा डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। फरेन्सिक परीक्षणले अडियो–भिडियो सामग्रीमा कुनै छेडछाड नभएको पुष्टि गरेको आयोगको दाबी छ।

यस प्रकरणमा मालपोत कार्यालयका तत्कालीन प्रमुख, घरजग्गा व्यवसायी तथा बिचौलियासहित अन्य प्रतिवादीहरूलाई पनि मुद्दामा समेटिएको छ।

विशेष अदालतमा जारी सुनुवाइपछि मुद्दाको थप प्रक्रिया र फैसला आगामी दिनमा तय हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *