२०८२ बैशाख ४, बिहिबार

वीरगन्ज :
१४:१३:४६

पूर्ण खोप जिल्ला पर्सामा भेटिए ‘जिरो डोज’ बालक, तत्कालै लगाइयो खोप

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.2kViews
1800 Shares

बीरगन्ज,२७ माघ । आठ महिना पहिले नै पूर्ण खोप जिल्ला घोषणा भइसकेको पर्सामा एकजना ‘जिरो डोज’ (नियमित कुनै पनि खोप नलगाएको) बालक फेला परेका छन्। जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई डिपीटी, बीसीजी, पोलियो लगायत १३ प्रकारका नियमित खोप लगाइने गरिन्छ।

स्वास्थ्य कार्यालय पर्साले २०८१ जेठ ३ गते पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरेको थियो। तर, घोषणाको आठ महिनापछि नै पर्साको कालिकामाई गाउँपालिका–५, हरिहरपुरमा १ वर्ष ६ महिनाका एक बालकले कुनै पनि खोप नलगाएको पाइएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार स्वास्थ्यकर्मीको टोली पुगेर ती बालकलाई खोप लगाइएको छ।

ठाकुरका अनुसार जिल्लामा हाल सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका क्रममा स्वास्थ्यकर्मीको टोली गत शुक्रबार हरिहरपुर पुगेको थियो। सोही क्रममा गाउँपालिका कार्यालय अगाडि पाल टाँगेर बसेका फिरन्ते नेटुवा र बढई समुदायका परिवार भेटिएका थिए। त्यही समुदायका १ वर्ष ६ महिनाका बालक कुनै खोप नलगाएको अवस्थामा भेटिएपछि तत्कालै खोप लगाइएको हो।

ठाकुरका अनुसार पूर्ण खोप घोषणा भइसकेपछि पर्सामा ‘जिरो डोज’ बच्चा भेटिएको यो पहिलो घटना हो। फिरन्ते समुदायका भएकाले ती बालक नियमित खोप लगाउनबाट वञ्चित भएको हुनसक्ने उनले बताए।

त्यसैगरी, सोही समुदायमा एचपीभी खोपको लक्षित उमेर समूहमा पर्ने ११, १२ र १३ वर्षका तीन किशोरीहरू भेटिएका थिए। शनिबार नै उनीहरूलाई पनि एचपीभी खोप लगाइएको ठाकुरले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *