श्रेणी : मधेस
वीरगञ्ज (पर्सा), १४ फागुन — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले आफ्नो प्रचार अभियानलाई थप सक्रिय बनाएका छन्। बिहीबार उनले वीरगञ्ज महानगरपालिका–१० अन्तर्गत आदर्शनगर अशोकवाटिका र घडिअर्वा पोखरी क्षेत्रमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।
स्थानीय बासिन्दाले उनलाई स्वागत गर्दै अभियानमा उत्साहपूर्वक सहभागिता जनाएका थिए। पूर्व वडाध्यक्षसमेत रहेका कानुले टोल–टोलमा पुगेर स्थानीय समस्या सुन्दै आगामी योजनाबारे जानकारी दिएका थिए।
घरदैलोका क्रममा उनले वीरगञ्जलाई अव्यवस्था र कुशासनबाट मुक्त गरी लगानी तथा व्यवसायका लागि अनुकूल वातावरण बनाउने आफ्नो प्राथमिकता रहेको बताए। लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिक अभ्यासले जनताको जीवनमा अपेक्षित परिवर्तन ल्याउन नसकेको उल्लेख गर्दै उनले नयाँ सोच र जिम्मेवार नेतृत्व आवश्यक भएको धारणा राखे।
उनका अनुसार पर्सा औद्योगिक तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण जिल्ला भए पनि विगतका जनप्रतिनिधिको प्रभावकारी पहल नहुँदा विकासले गति लिन सकेको छैन। क्षेत्रको सडक अवस्था, पूर्वाधार र व्यापारिक गतिविधि कमजोर बन्दै गएको उल्लेख गर्दै निर्वाचित भएपछि तीनै तहका सरकारबीच समन्वय गरेर योजनाबद्ध विकास अघि बढाइने प्रतिबद्धता उनले व्यक्त गरे।
विशेषगरी औद्योगिक सम्भावनालाई केन्द्रमा राखेर ठूला परियोजना ल्याउने र रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ छ। साथै उनले मतदातालाई पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरेर परिवर्तनको यात्रामा साथ दिन आग्रह गरे।
स्थानीय तहको नेतृत्व सम्हाल्दा खानेपानी लगायत आधारभूत समस्या समाधानमा काम गरेको अनुभवलाई आधार बनाएर उनले यस पटक पनि जनसमर्थन बढिरहेको दाबी गरेका छन्। घरदैलो अभियानमार्फत युवा र व्यवसायी वर्गको आकर्षण उल्लेखनीय रूपमा बढेको उनको भनाइ छ।

प्रतिक्रिया