
श्रेणी : BANNER
वीरगन्ज, २० असोज। सिर्सिया नदीको बहाव क्रमशः घट्दै गएपछि वीरगन्ज आसपासका क्षेत्रहरूमा जनजीवन बिस्तारै सामान्य लयमा फर्किँदै गएको छ।
नदीको जलसतह बढेपछि सिर्सिया नदी छेउछाउका रानिघाट, विद्यापती टोल, राधेमाई, अशोक वाटिका, प्रगतिनगर, छकैंया, ड्राइपोर्ट, खल्वाटोला सिर्सिया, रामघढवा र हरपतगंजलगायतका बस्तीहरू डुबानमा परेका थिए। घरघरमा पानी पसेपछि स्थानीयवासीहरू सुरक्षित स्थानतर्फ सरेका थिए, भने कतिपयले छिमेकी वा आफन्तका घरमा आश्रय लिएका थिए।
हाल पनि केही सडक र वस्तीहरूमा पानी जमेको भएपनि जलस्तर क्रमशः घट्दै गएको स्थानीयहरूले बताएका छन्। दुई दिनदेखि निरन्तर वर्षा भएपछि वीरगन्ज महानगरपालिका र पर्साका अन्य नदी तथा खोलाछेउका बस्तीहरू डुबानमा परेका थिए।
मौसमविद्हरूका अनुसार असोज १७ देखि २० गतेसम्म देशभर मनसुन सक्रिय रहेकाले भारी वर्षा भएको थियो। तर यसपटक वीरगन्ज क्षेत्रमा देशभरकै सबैभन्दा बढी वर्षा मापन गरिएको बताइएको छ।
स्थानीय प्रशासनका अनुसार बाढीका कारण हालसम्म कुनै मानविय क्षति भएको रिपोर्ट छैन। तर ठूलो आर्थिक क्षति भएको र कृषिजन्य बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बजार क्षेत्रबाट पानी घटेसँगै चहलपहल सुरु भएको छ। बन्द रहेका पसलहरू खुल्न थालेका छन्। भोलिदेखि सबै सरकारी कार्यालय, संघ–संस्था र निजी प्रतिष्ठानहरू सञ्चालन हुने तयारी भएको बताइएको छ। घरमा पानी पसेका कारण अवरुद्ध भएका विद्युत् र सञ्चार सेवा पनि सुचारु भइसकेका छन्।
पर्सामा पानीमा फसेकाहरुको उदारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत परिचालन गरिएको थियो । वीरगंज वडानं. ११ चमार वस्तीमा फसेका १३ जनालाई सुरक्षाकर्मीहरु उदार गरेका थिए भने छपैयाको मर्दसामा पसेका ५३ जनालाई सुरक्षित तवर उदार गरिएको थिया ।
त्यसैगरी माइती नेपाल,करागार, बहुदरमाई नगरपालिका,रमगढवा लगायताको ठाउँमा पसेका स्थानियहरुलाई समेत उदार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हालसम्म पर्सा जिल्लामा कुनै किसिमको मानवीय क्षती नभएको भएपनि अन्न लताकपडा,जिन्सी समाग्री एवं बालीनालीमा ठूलो नोक्सानी भएको छ ।
अहिले आज बिहानदेखि पर्साको खोलाहरुको जल सतह घटदै गएपछि वस्तीको पानी समेत कम हुन थालेको एवं जनजीवन समान्य लय फर्किदै गएको स्थानिय प्रशासनले जनाएको छ । घरमा पानी पसेपछि सुरक्षित स्थानियमा सरेका अथवा सारिएका मानिस आ आफ्नो घर फर्कन थालेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।


प्रतिक्रिया