
श्रेणी : BANNER
वीरगंज, २५ असार – खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजका विभिन्न वडाहरूमा खानेपानीको मुहान सुकेर देखिएको समस्याको स्थलगत अनुगमन गर्नुभएको छ। वीरगंजमा पानीको अभाव तीव्र बन्दै गएपछि गृह जिल्ला पर्सा आइपुगेका मन्त्री यादवले वीरगंज महानगरपालिकाको श्रीपुर, मुर्ली, राधेमाई, प्रतिमा चोक, नयाँका टोला, रमगढवा, अलौं, परवानीपुर र सुगौली लगायतका क्षेत्रमा बुधवार जनताकाे घरदैलाेमै पुगेर समस्या बुझेका हुन्।
टोल टोलमा पुगेर स्थानीयवासीको गुनासो सुन्दै मन्त्री यादवले दुई दिनदेखि एक साताभित्र पानीको समस्या समाधान गर्ने आश्वासन दिनुभयो। उहाँले जलवायु परिवर्तन र चुरे दोहनका कारण वीरगंजमा पानीको संकट देखिएको भन्दै समस्या समाधानका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभयो।
“पानी जस्तो अत्यावश्यक विषयमा राजनीति नगरी सबै पार्टीका नेता र कार्यकर्ता एक भएर काम गर्न जरुरी छ,” मन्त्री यादवले बताउनुभयो। उहाँले यो संकट प्राकृतिक विपत्ति भएकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो।
तत्काल समाधानका लागि वीरगंजका विभिन्न स्थानमा डिप बोरिङ गरेर पानी वितरण गरिने र दीर्घकालीन समाधानका लागि खानेपानी मन्त्रालयमार्फत साढे चार अर्ब रुपैयाँको खानेपानी आयोजना अगाडि बढाइएको मन्त्री यादवले जानकारी दिनुभयो। ठूला परियोजनाहरूमार्फत वीरगंजको खानेपानी समस्या स्थायी रूपमा समाधान गर्ने योजना सरकारले अघि सारेको उहाँले बताउनुभयो।
वीरगंजवासीलाई पानीको समस्या समाधान हुनेमा ढुक्क रहन आग्रह गर्दै मन्त्री यादवले सहज रूपमा पानी वितरण गर्न केही समय लाग्ने स्पष्ट पार्नुभयो। खानेपानी संस्थानको लाइन पुगेका क्षेत्रमा पनि द्रुत रूपमा धारा वितरण कार्य अगाडि बढाउन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।
धारा जडानमा सरकारले तोकेको शुल्कभन्दा बढी लिएको पाइएमा सम्बन्धित कर्मचारीमाथि तत्काल कारबाही गरिने चेतावनी मन्त्री यादवले दिनुभयो । वीरगंजका लागि आवश्यक थप जनशक्ति पनि बाहिरबाट मगाइएको र नयाँ तारा जडान कार्य सहज गर्न प्रासय गरिएको मन्त्री यादवले बताउनु भयो ।


प्रतिक्रिया