वीरगन्ज :

पानीको अभावले बीरगन्जका सर्भिस सेन्टर र वर्कसप ठप्प

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.0kViews
1359 Shares

बीरगन्ज,०८ साउन । बीरगन्जमा पछिल्लो केही महिनायता पानीको चरम अभावलेअटो सर्भिस सेन्टर र वर्कसपहरू पनि प्रभावित भएका छन् । लामो समयदेखि बर्षा नहुँदा भूजल सतह सुकेर चापाकलहरुमा पानी आउन छोडेपछि पानीको अभावले अर्टो सर्भिस सेन्टर र वर्कसपहरु पनि ठप्प हुँदै गएका छन्। दैनिक जसो सवारी साधन धुने र मर्मत गर्ने यी व्यवसायहरू अहिले पानीकै कारण बन्द जस्तै अवस्थामा पुगेका छन्।

बीरगन्जको आदर्शनगरस्थित न्यु आदर्श सर्भिस सेन्टरका सञ्चालक वासुदेव दासका अनुसार अधिकांश वर्कसप र सर्भिस सेन्टरहरु पानी अभावले बन्द हुने अवस्थामा पुगेका छन् । उनी भन्छन्, “हामीकहाँ पहिले दैनिक ५–६ वटा कारको वासिङ्ग हुन्थ्यो। तर पछिल्लो ३ महिनादेखि काम ठप्प छ। खानेपानी त किनेर ल्याइरहेका छौं, तर कार वासिङ्गको लागि पर्याप्त पानी छैन। सरकारी धाराको पाइप त छ, तर पानी नै आउँदैन। कर्मचारीहरू पनि कामविहीन छन्।”

त्यसैगरी, मधेश विश्वविद्यालय अगाडि रहेको विश्वकर्मा मोटरसाइकल रिपेयरिङ वर्कशपमा पनि अवस्था उस्तै छ। वर्कसपका सञ्चालक रेयाज मियाँले बताए अनुसार, पहिले महिनामा १५०–१७० वटा स्कुटर र मोटरसाइकल वासिङ्ग हुन्थ्यो । अहिले ४०–५० मा झरेको छ। तीनवटा चापाकलमध्ये दुई ओटा सुकेका छन्। उनी भन्छन्, ‘एउटाबाट जति सकिन्छ त्यति गरिरहेका छौं। कर्मचारीलाई तलब दिन समेत धौ–धौ परेको छ। काम नभएपछि तलब दिन सकिदैन तलब नपाएपछि कामदार पनि बस्दैनन् बेरोजगार हुने चिन्ता बढेको छ ।”

यस्तै, बीरगन्ज सिटी मार्केट छेउको समर अटो सर्भिसिङ तथा कार वर्कसपमा त ग्राहकलाई फर्काउनु पर्ने बाध्यता छ। सञ्चालक मधुकान्त चौधरी भन्छन्, “पछिल्लो ३ महिनादेखि पानीको समस्या भयावह छ। यहाँ खानेपानी पाइप र धारै छैन। कर्मचारीहरू बेरोजगार भएर दिनभरि खाली बस्नुपरेको छ। पसलको भाडा तिर्न समेत समस्या भइसकेको छ।”

बीरगन्जमा यति बेला न केवल अटो सर्भिस व्यवसाय प्रभावित भएको छ, तर यससँग सम्बन्धित मजदुर र कर्मचारीहरूको जीविकोपार्जनसमेत संकटमा परेको छ। व्यवसायीहरू समयमै स्थानीय तह र सम्बन्धित निकायले ध्यान नदिए व्यवसाय नै बन्द हुने स्थिति आएको बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *