
श्रेणी : अन्तर्राष्ट्रिय
वीरगन्ज,१० बैशााख । भारतको जम्मु कास्मिरको पहलगाममा भएको आतङ्कवादी हमलापछि सामाजिक सञ्जालमा पाकिस्तान र आतङ्कवादी सङ्गठन लस्कर-ए-तैयबालाई “थ्याङ्क यू” लेखेर पोस्ट गर्ने मोहम्मद नौशादलाई झारखण्डको बोकारो पुलिसले पक्राउ गरेको छ ।
बोकारोको मिल्लत नगरका ३५ वर्षीय नौशादले मङ्गलवार भएको उक्त हमलाको समर्थनमा सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काऊ पोस्ट गरेका थिए । उनको पोस्टले सामाजिक सञ्जालमा तीव्र विवाद सिर्जना गरेपछि बोकारो पुलिसले तत्काल कारबाही गर्दै उनलाई बुधवार बिहान मखदुमपुरबाट पक्राउ गरेको हो ।
मोहम्मद नौशादले सामाजिक सञ्जाल प्लेटफर्म “एक्स” मा उर्दू भाषामा लेखेका थिए, “धन्यवाद पाकिस्तान, धन्यवाद लश्कर-ए-तैयबा, अल्लाहले तिमीहरूलाई सधैँ खुसी राखुन् । आमीन, आमीन । हामीलाई बढी खुसी हुन्छ यदी आरएसएस, भाजपा, बजरङ्ग दल र मिडियालाई निशाना बनाउनेछौँ ।” उनले यो पोस्टमा तीन वटा स्माइली इमोजी प्रयोग गरेर आफ्नो खुसी व्यक्त गरेका थिए । साथै, उनले अन्य थुप्रै भड्काऊ र आपत्तिजनक पोस्टहरू पनि शेयर गरेका थिए ।
नौशादको यस्तो पोस्टले सामाजिक सञ्जालमा आक्रोशको लहर फैलिएपछि राँचीका विधायक सीपी सिंह र बोकारोका पूर्व विधायक विरञ्चि नारायणले तुरुन्तै बोकारोका पुलिस अधीक्षक (एसपी) मनोज स्वर्गियारीसँग सम्पर्क गरी नौशादको तत्काल पक्राउको माग गरेका थिए ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै बोकारोका एसपी मनोज स्वर्गियारीले टेक्निकल सेलको सहयोगमा इन्स्पेक्टर नवीन कुमार सिंहको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्दै रातभरको प्रयासपछि बुधवार बिहान नौशादलाई पक्राउ गर्न सफल भएको थियो । हाल उनलाई थानामा राखेर गहन सोधपुछ भइरहेको छ । नौशादविरुद्ध प्राथमिकी (एफआईआर) दर्ता गर्ने प्रक्रिया सुरु भएको छ र उनलाई चाँडै अदालतमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ । बालीडीह थाना प्रभारी नवीन कुमारले नौशादको पक्राउको पुष्टि गर्दै थप अनुसन्धान र कानुनी कारबाही जारी रहेको बताए ।
मोहम्मद नौशादका पिता मोहम्मद मुश्ताक बोकारो इस्पात संयन्त्रबाट सेवानिवृत्त कर्मचारी हुन् । नौशाद मूल रूपमा बिहारको बासिन्दा हुन् र हाल आफ्ना पितासँग बोकारोको मिल्लत नगरमा बस्छन् । उनले बिहारको एक मदरसामा कुरानको अध्ययन गरी डिग्री हासिल गरेका छन् । उनका एक भाइ दुबईमा बस्छन् । भाइ कै नाममा दर्ता भएको सिम कार्ड प्रयोग गरी नौशादले इन्स्टाग्राम, ‘एक्स’ र फेसबुक सञ्चालन गर्थे ।
मङ्गलवार जम्मु कश्मिरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसरन घाटीमा आतङ्कवादीहरूले पर्यटकहरूमाथि बर्बर हमला गरेका थिए । ‘मिनी स्विट्जरलैंड’ को रूपमा प्रसिद्ध पहलगाममा भएको हमलामा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो भने थप १२ जना घाइते भएका थिए ।
आतङ्कवादीहरूले प्रहरीको वर्दी लगाएर हमला गरेको र पर्यटकहरूमाथि नजिकैबाट गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । पाकिस्तानस्थित निषेधित आतङ्कवादी सङ्गठन लश्कर-ए-तैयबाको छाता सङ्गठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले हमलाको जिम्मेवारी लिएको छ । हमला सन् २०१९ को पुलवामा हमलापछिको सबैभन्दा घातक हमला मानिएको छ ।
पहलगाम हमलापछि भारतसहित अन्य देशहरूमा पनि आक्रोश फैलिएको छ । बुधवार बिहानदेखि भारतको जम्मु, पहलगाम, दिल्ली, मुम्बईलगायतका शहरहरूमा विरोध प्रदर्शनहरू भइरहेका छन् । नागरिकहरूले केन्द्र सरकारसँग पाकिस्तानविरुद्ध कठोर कारबाहीको माग गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले हमलालाई ‘कायरतापूर्ण आतङ्कवादी हमला’ भन्दै दोषीहरूलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् । विपक्षी नेता राहुल गान्धी र पीडीपी प्रमुख महबूबा मुफ्तीले पनि हमलाको कडा निन्दा गरेका छन् । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका विश्वका ठूला नेताहरूले समेत घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया