
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२६ वैशाख । पाकिस्तानसँगको सैन्य तनाव चर्किएपछि भारतले उच्च सुरक्षा सतर्कता अपनाउँदै जम्मु लगायत २७ विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ।
पाकिस्तानबाट बिहीबार राति अचानक भएको मिसाइल आक्रमणपछि भारतको नागरिक उड्डयन मन्त्रालयले यो निर्णय लिएको हो। हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विस्फोटको आवाज सुनिएको भए पनि आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन।
बन्द गरिएका विमानस्थलहरूमा जम्मु, श्रीनगर, पठानकोट, अमृतसर, जोधपुर, जैसलमेर, चण्डीगढ, भुज लगायत उत्तर, पश्चिम र मध्य भारतका प्रमुख सहरहरू परेका छन्। यीमध्ये केही अन्तर्राष्ट्रिय उडानसमेत सञ्चालन हुने विमानस्थल हुन्।
सुरक्षाको दृष्टिकोणले यी विमानस्थलहरू १० मे बिहान ५:३० बजेसम्म बन्द रहने भारतीय सरकारी अधिकारीहरूले जनाएका छन्।
विमानस्थल बन्दसँगै इन्डिगो, एयर इन्डिया, स्पाइसजेट लगायत प्रमुख एयरलाइन्सहरूले सयौं उडान रद्द गरेका छन्। एयरलाइन्सहरूले यात्रुहरूलाई आफ्नो यात्रा योजना पुनः मूल्याङ्कन गर्न र आधिकारिक सूचना च्यानलमार्फत ताजा जानकारी लिन अनुरोध गरेका छन्।

प्रतिक्रिया