
श्रेणी : अन्तर्राष्ट्रिय
पाकिस्तानको नेशनल एसेम्ब्लीले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ । सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले बताएका छन् ।
पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठहर्याउन सक्ने व्यवस्था गरेका छन् । सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।
सर्वोच्च अदालतले उनलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए ।
त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेका छन् । उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए । पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ ।


प्रतिक्रिया