वीरगन्ज :

पाउरोटी तथा बेकरी उद्योगहरूमा आकस्मिक निरीक्षण, अव्यवस्थित उत्पादन र म्याद गुज्रिएका खाद्य सामग्री संयुक्त अनुगमन टोलीद्वारा नष्ट

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.8kViews
1605 Shares

वीरगंज (पर्सा), २३ मंसिर । वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले शहरका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा आकस्मिक निरीक्षण गरेको छ। खाद्य सुरक्षा, स्वच्छता तथा उपभोक्ता हित सुनिश्चित गर्ने उद्देश्यसहित गरिएको अनुगमनमा उद्योगहरूको सफाइ अवस्था, कच्चा पदार्थको व्यवस्थापन, मूल्य सूची, व्यवसाय दर्ता तथा उत्पादनका म्याद सम्बन्धी विषयमा विशेष ध्यान दिइएको थियो ।

अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानिघाटस्थित शिला बेकरी, तथा सोही क्षेत्रको लक्की पाउरोटी उद्योग मा निरीक्षण गरेको थियो । अनुगमनका क्रममा धेरै उद्योगहरूमा सफाइको अभाव, मूल्य सूची नटाँगिएको, व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएको, तथा उपभोक्तालाई बिक्री गर्न राखिएका म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, साना केक, बर्फी लगायतका खाद्य सामग्री भेटिएका थिए ।

स्वास्थ्यका दृष्टिले खतरनाक र उपभोक्ताको अधिकार विपरीत ठहरिने ती सामग्री तुरुन्तै जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । यसबाहेक केही उद्योगहरूले महानगरबाट व्यवसाय दर्ता नै नगरेको तथा केहीले दर्ता नवीकरण नगरी वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको पाइएकाले ७ दिनभित्र दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न महानगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ । निर्धारित समयभित्र प्रक्रिया पूरा नगर्ने उद्योगविरुद्ध महानगरले कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल का प्रतिनिधि अजित भुजेल, महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रासहित नेहा मिश्र, सञ्जय महतो, मनोज कुमार दासलगायतको सहभागिता थियो । अनुगमनलाई उपभोक्ता स्वास्थ्य तथा अधिकार संरक्षणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको महानगरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *