वीरगन्ज :

पाँच दलीय गठबन्धनका दलहरुले अलग अलग घोषणा पत्र ल्याएर रमिता देखाएः अध्यक्ष ओली

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य नै निर्धारण गर्ने बताएका छन् ।

सोमबार नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि जनादेशलाई कुल्चिएर परमादेशबाट सरकार बनाउने काम भएको र त्यो गल्तीलाई यो निर्वाचनबाट सच्याउनुपर्ने बताएका हुन् ।

उनले केही प्रतिगामी तत्वहरुले संसद विघटन गरेर जनतामा जाने कुरालाई प्रतिगमन भनेको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले २०७४ मा एमाले र माओवादी मिलेर ल्याएको घोषणापत्र प्रचण्डले लत्याएपछि आफूले ताजा जनादेशमा जान खोजेको बताए ।

उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवा संविधान बचायौँ भन्दैछन्। तर संविधान त कसले मारेको थियो र ? हामीले संविधानका कुनै धारा मिचेका थिएनौँ। ताजा जनानेशमा जाँदा संविधान मिचेको हुँदैन। बरु परमादेशबाट संविधान मिचिएको कुरालाई सच्याउनुछ।’

ओलीले देशमा प्रगतिशील काम भइरहेको अवस्थामा बहुमतको सरकार ढालेको आरोप लगाए। दक्षिणपन्थीको नेतृत्वमा भ्रष्ट सरकार बनाएको आरोप लगाउँदै उनले प्रतिगामी काम गठबन्धनले गरेको दावी गरे।

लोकतन्त्रको रक्षा, स्वाभिमानको रक्षा र संविधानको रक्षाका लागि नेकपा एमालेले जित्नु आवश्यक रहेको उनले बताए । उनले पाँच दलीय गठबन्धनका दलहरुले अलग अलग घोषणा पत्र ल्याएर रमिता देखाएको बताए ।

उनले भने, ’दिशाहीन, योजनाविहीन उनीहरुले केही गर्नु नै छैन। यस्ता गन्तव्यहीन विचार भएकाले कर्ममाण्ड पूरा गर्न घोषणा पत्र ल्याए। उनीहरुको उद्देश्य नै सरकार बनाएर देश लुट्ने हो।’

अध्यक्ष ओलीले सरकार बनाउनकै लागि गठबन्धन विदेशीसँग लम्पसार पर्ने गरेको आरोप लगाए । ओलीले आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको बताए ।

उनले भने, ‘सर्भे भन्दै एमालेलाई कांग्रेसको हाराहारीमा देखाउने कोसिस गरिएको छ । कांग्रेस हाराहारीमा मात्रै एमालेले भोट ल्याउँछ भन्ने इम्प्रेसन पार्न खोजिएको छ । त्यो भ्रम मात्र हो । एमालेले बहुमत ल्याउँछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *