वीरगन्ज :

पर्सा–२ मा सुशील कानुको घरदैलो तीव्र, घण्टीमा मतदान गर्न मतदातासँग अपिल

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.0kViews
1661 Shares

वीरगंज (पर्सा), १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले आइतबार पर्सागढी नगरपालिकाका विभिन्न वडामा चुनावी घरदैलो अभियान सञ्चालन गरेका छन्। उनले वडा नम्बर ९ का बडेर्वा र तेलिया तथा वडा नम्बर ७ को फुलवारीया क्षेत्रमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलोका क्रममा कानुले मतदातालाई आफ्नो चुनावी योजना र प्राथमिकताबारे जानकारी दिँदै घण्टी चुनाव चिन्हमा मतदान गरेर भ्रष्टाचारविरुद्धको अभियानलाई बलियो बनाउन आग्रह गरे। देशमा प्रजातन्त्र स्थापना भएदेखि नै विभिन्न दलहरूले भ्रष्टाचारमार्फत अर्थतन्त्र कमजोर बनाएको आरोप लगाउँदै उनले अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने आवश्यकता औंल्याए।

स्थानीयसँगको छलफलमा क्षेत्रका दीर्घकालीन समस्या, तिनका कारण र सम्भावित समाधानका उपायबारे खुला कुराकानी भएको थियो। निर्वाचित भएपछि महिलाहरूका लागि घरमै बसेर सिक्न सकिने कृषि, पशुपालन तथा सिलाइ–कटाइजस्ता सीपमूलक तालिम सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए। यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउने र परिवारको आयआर्जनमा सहयोग पुग्ने उनको भनाइ थियो।

त्यसैगरी, किसानहरूले जङ्गली जनावरका कारण बालीमा भइरहेको क्षतिबारे गुनासो गरेका थिए। कानुले किसानको समस्या समाधानका लागि प्रभावकारी नीति निर्माण, क्षतिपूर्ति व्यवस्था र दीर्घकालीन कार्यक्रम अघि बढाउने आश्वासन दिए। किसानको श्रमको सम्मान हुने वातावरण बनाउन आफू सदनमा आवाज उठाउने उनले बताए।

कार्यक्रममा सहभागी स्थानीयवासीले कानुलाई नयाँ सोचसहित जनताको समस्या प्रत्यक्ष सुन्ने उम्मेदवारका रूपमा उल्लेख गर्दै परिवर्तनका लागि यसपटक रास्वपालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *