श्रेणी : BANNER
वीरगंज (पर्सा), १८ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफ्नो पक्षमा बढ्दो जनसमर्थनका कारण विपक्षी दलहरू आत्तिएको दाबी गरेका छन् । वीरगंज महानगरपालिका–१६ नगवामा शनिबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रमलाई बिथोल्ने प्रयास गरिएको उल्लेख गर्दै उनले जनलहरकै बलमा त्यस्ता प्रयास असफल भएको बताएका हुन् ।
नगवामा आयोजित कार्यक्रममा हजारौँ स्थानीयको उत्साहजनक सहभागिताले एमालेप्रतिको जनविश्वास थप प्रष्ट भएको यादवको भनाइ छ । “पर्सा–१ मा एमालेको जित सुनिश्चित हुँदै गएको अवस्था विपक्षीका लागि सह्य भएन,” उनले भने, “त्यही कारण कार्यक्रमलाई बदनाम गर्ने प्रयास गरियो, तर जनताको समर्थनका अगाडि त्यस्ता हर्कत टिक्न सकेनन्।”
पूर्वमन्त्रीसमेत रहेका यादवले आफू मन्त्री रहँदा गरेका विकास निर्माणका कामहरूको मूल्यांकन अहिले जनताले गरिरहेको दाबी गरे । “अरूजस्तो भाषणले होइन, मेरो कामले नै जनतासँग बोलेको छ,” उनले जोड दिए । नगवामा देखिएको सहभागिता कुनै संयोग नभई जनताको चेतना र परिवर्तनप्रतिको चाहनाको परिणाम भएको उनको भनाइ थियो ।
कार्यक्रमका क्रममा विभिन्न दल परित्याग गरी ठूलो संख्यामा स्थानीयहरू एमाले प्रवेश गरेको बताइएको छ । स्थानीय बासिन्दाहरूले विकास, जवाफदेहिता र परिणाममुखी नेतृत्वको अपेक्षाका साथ एमाले रोजेको प्रतिक्रिया दिएको यादवले जानकारी दिए । “अब जनता पुरानै शैलीको राजनीति होइन, काम गरेर देखाउने नेतृत्व खोजिरहेका छन्,” उनले भने ।
यादवका अनुसार नगवामा देखिएको जनलहर पर्सा–१ का अन्य क्षेत्रहरूमा पनि क्रमशः दोहोरिँदै गएको छ । घरदैलो, भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमहरूमा बढ्दो सहभागिताले एमालेप्रतिको आकर्षण स्पष्ट देखिएको उनले दाबी गरे । आगामी दिनमा जनतासँगको प्रत्यक्ष संवादलाई अझ तीव्र बनाउँदै चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने उनले बताए ।

प्रतिक्रिया